आत्महत्या रोकथाम गर्न सकिन्छ : डा. कमल गौतम

(यस अन्तर्वार्ता बाँचे संसार जितिन्छ भाग १ बाट साभार गरिएको हो । बाँचे संसार जितिन्छ अष्ट्रेलियन एडको आर्थिक सहयोग र निहारिका प्रोडक्सनको प्राविधिक सहयोगमा टि.पि.ओ नेपालद्वारा प्रस्तुत गरिएको आत्महत्या रोकथाम सम्बन्धि रेडियो कार्यक्रम हो । यस भागमा मिलन गहतराजले नशा तथा मनोरोग विशेषज्ञ डा. कमल गौतमसँग आत्महत्या भनेको के हो, यस्तो सोच किन आउँछ र यसबाट बच्न के गर्न सकिन्छ भनेर कुराकानी गनुभएको छ । डा. गौतम टि.पि.ओ नेपालमा कन्सल्टेन्ट साइकाइट्रिष्ट तथा उप कार्यकारी प्रवन्धकको रुपमा कार्यरत हुनुहुन्छ । )

 

आत्महत्या भनेको के हो ?

आत्महत्या भन्नाले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन  आफँैले समाप्त पार्ने कार्यलाई बुझिन्छ । जो व्यक्तिहरुले आत्महत्याको प्रयास अथवा आत्महत्या गर्दछन् त्यस मध्ये ९५ प्रतिशत व्यक्तिहरुलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने कुरा तथ्याङ्कहरुले पुष्टि गरेको छ । त्यस मध्ये धेरै जसो व्यक्तिहरुमा आत्महत्याको कारण भनेको उदासिनता वा डिप्रेसन हुने गर्दछ । बाँकी ५ प्रतिशत व्यक्तिहरुमा भने कहिलेकाहीँ एक्कासि तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास हुने गर्दछ जुन मानसिक रोगले नभएर एक्कासि हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ ।

यो हुने कारण के हो ? के हर्मोनल कारणहरुले असर पार्ने हो ?

यसका विभिन्न कारणहरु हुन्छन् । सामान्यतया कुनै पनि मानसिक रोगका कारणहरुलाई तीन भागमा विभाजन गर्ने गरिन्छ । एउटा जैविक कारण, दोस्रो मनोवैज्ञानिक कारण र तेस्रोे सामाजिक कारण । मानसिक रोगका कारणले आत्महत्या हुने भएको र मानसिक रोग बिस्तारै आउने र बिस्तारै बढ्दै जाने भएको हुँदा व्यक्तिलाई सुरुमा आत्महानिको सोच आउँछ । आत्महानिको सोच आइसकेपछि उक्त व्यक्तिमा भावनात्मक परिवर्तनहरु आउन थाल्छ र यो भावानात्मक अवस्थाबाट व्यक्ति गुज्रिसकेपछि उसले अब योजना बनाउन थाल्छ । त्यसै कारणले गर्दा मानसिक रोगबाट एक्कासि आत्महत्या नहुने र क्रमिक रुपमा विकसित हुने गर्दछ ।

त्यसो भए कोही व्यक्तिलाई मानसिक रोग लागेको अवस्था छ , अब ऊ बिस्तारै आत्महत्याको  सोच तर्फ अग्रसर भइराखेको छ भने थाहा पाउने टिप्सहरु के के छ ?

कुनै पनि व्यक्तिलाई आत्महत्याको सोच छ अथवा आत्महत्या गर्दैछ भने उक्त व्यक्ति निराश हुने , आशा विहिन हुने , सहयोग विहिन भएको महसुस गर्ने वा आफू मूल्यहिन भएको महसुस गर्ने गर्दछ । पहिला यस्ता सोचहरु नआएको तर हालको अवस्थामा मुल्यहिन, सहयोग विहिन , आशा विहिन भएको सोचहरु आइरहेको छ भने त्यस व्यक्तिले आत्महत्या गर्ने सम्भावना हुन्छ भनेर हामीले बुझ्नुपर्दछ । र अर्को कुरा हालको समयमा आएर यदि उक्त व्यक्ति एकदमै हिंस्रक भईरहेको छ, छटपटाहट भएको छ वा एक्लो महसुस गरेर कसैसँग पनि नबोल्ने, एक्लै टोलाएर बस्ने गरिरहेको छ भने त्यस्तो अवस्थामा पनि उक्त व्यक्तिले आत्महत्या गर्न सक्छ भनेर बुझ्नु पर्दछ । त्यस्ता व्यक्तिलाई घरपरिवारले सहयोग गरेर मानसिक परामर्श लिनुपर्दछ ।

उसले आफुमा भएको उक्त सोच शारीरिक हाउभाउबाट व्यक्त गरिरहेको हुन्छ अथवा आफैँ भनिरहेको पनि हुन सक्छ ?

एकदमै राम्रो प्रश्न । हरेक व्यक्तिले आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि सफल हुने सपनाका साथ अघि बढिरहेको हुन्छ । सामान्यतया अध्ययनहरुले के देखाएको छ भने कुनै पनि व्यक्तिले आत्महत्या गर्नु भन्दा १ देखी २ हप्ता अगाडि अब आफ्नो जीवन अन्त्य गर्दैछु, यसपछि मेरा बालबच्चाको के हुन्छ, मेरो सन्ततिहरुको के हुन्छ भन्ने सोचेर चाँजो पाँचो मिलाउने, सम्पत्तिको भागबन्डा लगाइदिने वा अब जीवन यस्तै रहेछ मेरो छोराछोरीको ख्याल राख्नु भन्ने खालको कुराहरु आफ्नो नजिकको नातेदारहरुसँग, साथीभाईसँग बाँड्ने वा चिकित्सकसँग व्यक्त गर्ने गर्दछन् । त्यसैकारणले गर्दा यस्ता खालका चिन्हहरु हामीले देख्यौ भने त्यस व्यक्तिमा पक्कै पनि आत्महत्याको सोचहरु छन् भन्ने कुरा पहिचान गर्न सकिन्छ ।

त्यसो भए त्यस्तो अवस्थामा उसको घरपरिवार साथीभाईहरुले पूर्वसावधानी कसरी अपनाउन सक्छन जसले गर्दा उक्त व्यक्तिलाई आत्महत्या बाट उम्काउन सकियोस् ?

उनीहरुले एकान्त खालको वातावरण खोजिरहेका हुन्छन् । तर त्यस्ता व्यक्तिलाई एक्लै नछाड्ने र २४ घण्टा नै उनीहरुलाई निगरानीमा राखिरहने गर्नुपर्दछ । दोस्रो कुरा धारिलो हातहतियार, औजारहरु, त्यसैगरी डोरी, विषादीहरु उक्त व्यक्तिको पहुँचबाट टाढा राख्ने गर्नुपर्दछ । उनीहरुलाई पटक पटक चेक गरिरहनु पर्दछ किनभने कहिलेकाहीँ उक्त व्यक्ति बाथरुममा गएर लक गरेर त्यहीँबाट पनि आत्महत्या गर्न सक्दछ । अर्को कुरा २˗४ तला माथिबाट हामफालेर पनि आत्महत्याको प्रयास गर्न सक्दछन् । त्यसैले झ्याल ढोका पनि खुल्ला राख्नुहँुदैन । झ्याल ढोका खुल्ला हँुदा बाहिर गएर आत्महत्या गर्ने सम्भावना हुन्छ । मुख्य कुरा यदि आत्महत्या सम्मको सोच नै आईसकेको छ भने हामीले सकेसम्म मानसिक सहयोग भएको अस्पतालमा भर्ना गरेर उपचार गर्दा निकै राम्रो हुन्छ ।

के यो साँच्चै निको हुन्छ त ? शतप्रतिशत निको हुने सम्भावना छ ?

आत्महत्याको सोच भएका व्यक्तिहरुलाई जोगाउनका लागि हामीसँग निश्चित समयावधि हुन्छ । यदि त्यस समयावधिमा उक्त व्यक्तिलाई जोगाउन सकियो भने आत्महत्या शतप्रतिशत रोकथाम गर्न सकिन्छ । तर पटक पटक आत्महत्या गर्ने सोच आइसकेपछि भविष्यमा पनि त्यो सोचे दोहोरिने वा बल्झिने अवस्था रहन सक्ने भएको हुँदा भविष्यका दिनहरुमा परिवारजन सजग रहनु अत्यावश्यक हुन्छ । यति गर्न सकियो भने पक्कै पनि आत्महत्या रोकथाम गर्न सकिन्छ । २०˗३० प्रतिशतमा भने भविष्यमा गएर दोहोरिने सम्भावना भएको हुँदा हामीले निगरानीमा राख्न आवश्यक हुन्छ ।

त्यसो भए आत्महत्या भनेको एउटा मानसिक रोग हो । यो उपचार गराएमा पूर्णरुपमा ठिक हुन्छ र यसको सोच आउनु भनेकै एक किसिमको मानसिक रोग हो भनेर बुझियो । अब त्यस्तो सोच कसैलाई छ तर उहाँहरु आफँै यसको सामना गर्न चाहानुहुन्छ भने उहाँहरुले के गर्न सक्नुहुन्छ होला ?

पक्कै पनि । तपाईँले नजिकको मानसिक तथा मनोसामाजिक परामर्श दिने संस्थामा गएर सेवा लिन सक्नुहुनेछ । तपाईले समयमा नै यस्तो खालको सेवा लिनुभयो र औषधी उपचार गर्नुभयो भने आत्महत्या रोकथाम गर्न सकिन्छ । त्यसैले यस्ता खालका लक्षणहरु आफूमा छ भने तपाईहरुले सजग रहेर समयमै सहयोग लिनुभयो भने राम्रो हुन्छ । तपाईले सकारात्मक सोचहरु विकास गर्ने , दैनिक रुपमा मर्निङ वाक गर्ने, आफूलाई मनोरन्जनात्मक क्रियाकलापहरुमा भुलाउने र दिनचर्याका क्रियाकलापहरु जे जति सकिन्छ त्यो गर्नुपर्दछ । यसका साथैै मनोसमाजिक सहयोग, मनोपरामर्श तथा मनोविद्को सहयोग निश्चित रुपमा आवश्यक पर्ने भएको हुँदा यी सहयोग तपाईले लिनैपर्ने हुन्छ ।

यसो ग¥यो भने बाँचे संसार संसार जितिन्छ हैन त ?

पक्कै पनि । यदि तपाईहरुले समयमै उपचार लिनुभयो भने निराशाजनक अवस्थाबाट अघि बढेर, जीवनमा नयाँ दियो बालेर जीवनलाई अगाडि बढाउन सक्नुहुनेछ र बाँचे तपाईले संसार जित्न सक्नुहुन्छ । हार नखाऔँ । यहाँबाट तपाई पक्कै पनि अगाडि बढ्न सक्नुहुनेछ ।

(रेडियो कार्यक्रम बाँचे संसार जितिन्छ हरेक मंगलबार साँझ ७ बजे रेडियो मेलम्ची १०७.२, रेडियो सिन्धु १०५ र रेडियो हेलम्बु ८९.६ मेगाहर्जमा सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ ।)

 

 

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us