कोभिड १९ महामारीमा “मनको वह विश्वासिलो व्यक्तिलाई कह” अनुभव

इन्दिरा प्रधान
मनोसामाजिक तथा मानसिक स्वास्थ्यको क्षेत्रमा सेवा प्रदान गरेको १६ वर्ष पूरा भएछ । यो यात्रामा देशका विभिन्न क्षेत्रमा प्रत्यक्ष उपस्थित भएर, आफू कार्यरत संस्थाबाट प्रत्यक्ष तथा दुर सेवा प्रदान गर्न पाउँदा धेरै खुसी छु । तथापी वेखुसी भएको दिन नआएको होइन । यी सबै अनुभवहरुलाई खासै बाहिर व्यक्त गरिएन । त्यसमा कुनै गुनासो छैन किनकी मैले के गरें भन्दा पनि मैले गरेको कामले कस्तो प्रभाव पार्दछ भन्ने कुरामा ध्यान दिनु पर्ने आफ्नो पेशागत धर्म भएकोले पनि आफ्ना अनुभवलाई खास रुपमा सार्वजनिक गरिएन । तर अहिलेको कोरोना महामारीका कारणले सेवाग्राही मात्रै नभइ सेवाप्रदायकहरु पनि अधिक जोखिममा रहेको अवस्थामा आफ्नो सिमितताका बावजुद पनि सेवालाई निरन्तरता दिने अवसर जुटाउन सकेकोमा गर्व महसुस गरिरहेको छु ।
मेरो १६ वर्षे पेशागत जीवनमा मैले सेवा प्रदान गरेका व्यक्तिहरुमा मात्रै परिवर्तन आएको छैन, उनीहरुको प्रभाव आफूमा पनि निकै नै छ । यसबाट जीवनलाई हेर्ने तरिका, समाजलाई बुझ्ने दृष्टिकोण अनि आफ्नो भूमिकाको महत्वबारे राम्ररी बुझ्न मद्दत गर्यो । जसले मुख्यतः काम प्रतिको लगावमा धेरै नै योगदान गरेको छ ।
पहिले जब प्रत्यक्ष कार्यक्षेत्रमा गएर सेवा प्रदान गरिन्थ्यो, सेवाको महत्व बुझाउन नै समय लाग्थ्यो । अविश्वासका कारण वर्षौ देखि सशंकित बनेका मनलाई यकिन दिलाउन समय लाग्थ्यो । आफ्नो ज्ञान, बलवँुताले नभ्याउँदा सेवा आवश्यक भएको आफूले देख्दा देख्दै पनि बीचमै विट मार्न बाध्य हुनु पर्दथ्यो । समस्यामा केन्द्रित भएर सहयोग गर्नुपूर्व व्यक्तिलाई आफ्ना समस्याहरु कुनै पूर्वानुमान बिना सम्बोधन हुन्छ भन्ने विश्वास दिलाउन समय लाग्थ्यो । त्यहि क्रममा धेरै सहयोगको यात्रा टुंगिन्थ्यो । मनोसामाजिक तथा मानसिक समस्याका बारेमा कसी लगाइदिने समाजको डरले, थप कलंकित भएर हेयको भावले हेरिन्छ कि भन्ने डरले, ईज्जत गुम्छ कि भन्ने पीरले, उनीहरु सेवाको पहुँचमा आउन उत्साहित हुँदैन थिऐ किनकी मानिस आफ्नो जीवन भन्दा पनि आत्मसम्मान, ईज्जतको भोको हुन्छन् । त्यसो हुँदाहुँदै पनि झुक्किएर सेवा लिन आइपुगेकाहरुले अन्त्यमा दिएका पृष्ठपोषणहरु सुन्दा खुसीले गद्गद् भइन्थ्यो । फेरि अर्को दिनको लागि तयार रहन उर्जा मिल्थ्यो । तर अहिलेको समयसम्म आइपुग्दा, सोच फेरिएको पाँए, कमसेकम मनमा समस्या भएको थाहा पाउन थालेका रहेछन्, समस्याका समाधान खोज्न थालेका रहेछन् भन्ने भान भयो । यी कुरा मैले यो ७ हप्ताको अन्तरालमा मसँग सेवा लिनेहरुबाट अनुभव गरेको छु, जुन मेरो लागि उत्प्रेरणाको श्रोत बनिरहेको छ । अझै खटेर साँझ, बिहान पनि सेवामा हाजिर छु है भन्न ईच्छा शक्ति बढाइ दिएको छ । समस्याहरु त पहिले पनि पक्कै थिए, सुनाइएको वा सुनिएको थिएन । “मनको वह कसैलाई नकह” भन्ने अवस्था थियो तर अहिले “मनको वह विश्वासिलो व्यक्तिलाई कह” भन्ने अवस्था सिर्जना हुँदै आफ्नो मनमा भएका समस्या समाधान गर्न सहजिकरण खोज्नेको संख्या बढ्दै गएकोमा खुसी लागेको छ ।
मुख्यतः हेल्पलाईनमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी कार्य गरिरहेका व्यक्तिहरु जो हाम्रो सेवाका बारेमा जानकारी लिन चाहन्थे, आफूमा समस्या सुरु भएको धेरै समय भइसकेको र अहिलेको कोरोना महामारी बारे फैलिएका विभिन्न अफवाहहरुले गर्दा अझै समस्या बढेको, सामाजिक रुपमा लाञ्छना हुने डरले पहिचान खुलाउन नचाहने वा प्रत्यक्ष रुपमा उपस्थित हुन नसक्ने व्यक्तिहरु, पहिले देखि नै उपचार लिइरहेका, आफूमा समस्या भएको कुरा थाहा पाएका तर सेवा प्रदायकहरुसम्म पुग्न नसकेका, कोरोना माहामारीका कारण लकडाउन भएकाले नियमित उपचारबाट बञ्चित भएको कारण तनाव बढेका व्यक्तिहरुले हेल्पलाईन सेवाका लागि सम्पर्कमा आएका थिए ।
सेवाग्राहीहरुका लागि सर्वप्रथम त हाम्रो सेवाको उद्देश्यहरुबारे स्पष्ट पार्ने, तत्काल भइरहेको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याहरुबारे समानुभुतिपूर्वक ध्यान दिएर सुन्ने, भावनात्मक रुपमा उनीहरु एक्लो छैनन् भन्ने बारे निश्चित गर्ने, मनोशिक्षा प्रदान गर्ने, आवश्यकता अनुरुप थप सहयोगका लागि सम्बन्धित विषयगत निकायमा प्रेषण गर्ने जस्ता कार्यहरु हेल्पलाईन मार्फत गरियो । हाम्रो सेवा लिए पछि सबैजसो सेवाग्राहीहरुले मनमा शान्त महसुस भएको, मन हलुका भएको, सहयोग गर्ने व्यक्ति भेटिएको महसुस भएको (feeling supported), शरीर र मनलाई एकत्रित गर्न सकेको, समस्याको समाधान खोज्ने आत्मविश्वास आएको जस्ता प्रतिक्रियाहरु दिनु भएको थियो । यसै क्रममा एक जना सेवाग्राहीले भन्नुभएको थियो “मनमा काँडा झिके जस्तो भयो, समस्याको समाधान खोज्दाखोज्दै त्यसैले घोचिरहेको पत्तै पाइनछु । ”
फोन तथा अन्य सामाजिक सञ्जालको माध्यमबाट सेवा प्रदान गर्दा चुनौती पनि छन् । यस मध्ये नेटवर्कमा समस्या आउँदा तत्काल भावनात्मक सहयोग प्रदान गर्न गाह्रो पर्ने गरेको छ । प्रत्यक्ष कुराकानी गर्दाको जस्तो, व्यक्तिले बोल्दा उनको शारीरिक अवस्था प्रस्तुतीको आधारमा अवलोकन गरि भावनाको प्रतिविम्बन गर्न सकिँदैन । कतिपय सेवाग्राहीले हेल्पलाईन नम्बरको दुरुपयोग गरि सेवाप्रदायकलाई अनावश्यक फोन गरिरहने जस्तो समस्या पनि नआएको होइन । तथापी, अरु कुनै उपाय नभएको अवस्थामा चाहेको समयमा आफ्नो समस्यालाई कम गर्न, व्यवस्थापन गर्न चाहने व्यक्तिहरुका लागि भने यो निकै नै राम्रो अवसरको रुपमा लिन सकिन्छ, चाहे खर्चको हिसाबले वा समय बचत हुने दृष्टिकोणले ।
समग्रमा, मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवाको क्षेत्रमा प्रत्यक्ष भेटेर सेवा प्रदान गर्ने चलनका साथै फोनको माध्यमबाट पनि सेवा प्रदान गरि समस्यामा रहेका व्यक्तिहरुलाई सेवामा पहुँच सुनिश्चित गर्न सकिन्छ भन्ने कुरा यो महामारीको सन्दर्भमा गरिएको अनुभवबाट प्रष्ट भएको छ ।

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us