आत्महत्या न्यूनीकरणमा संचारको भुमिका : अतुल मिश्र

(यस अन्तर्वार्ता बाँचे संसार जितिन्छ ˗ भाग ४ बाट साभार गरिएको हो । बाँचे संसार जितिन्छ अष्ट्रेलियन एडको आर्थिक सहयोग र निहारिका प्रोडक्सनको प्राविधिक सहयोगमा टि.पि.ओ. नेपालद्वारा प्रस्तुत गरिएको आत्महत्या सम्बन्धि रेडियो कार्यक्रम हो । यस भागमा मिलन गहतराजले कान्तिपुर दैनिकका प्रमुख उपसम्पादक तथा स्वास्थ्य क्षेत्रका पत्रकार अतुल मिश्रसँग आत्महत्या न्यूनीकरणमा संचारले कस्तो भुमिका खेलिरहेको छ भनेर सोध्नु भएको थियो ।)

 

आत्महत्यासँग सम्बन्धित प्राय समाचारहरुलाई पाठक, दर्शक वा श्रोता बढाउनका लागि निकै सनसनीपूर्ण बनाउने गरिन्छ । यस्तो अवस्थामा आत्महत्या न्यूनीकरणमा संचारले कस्तो भुमिका खेलिरहेको छ ?

आत्महत्याको रोकथाम, उपचार तथा परामर्शको क्षेत्रमा संचारको निकै ठूलो भूमिका रहने गर्दछ । मिडियाले अहिले आत्महत्याको समाचार बनाउँदा head count मात्र गरिरहेको छ । अर्थात् कति जना मरे, कसरी मरे भन्ने विषयमा मात्र लेखिरहेको छ । तर मिडियाको दायित्व भनेको ती समाचारहरुको गहिराईमा गएर थप घटना हुनबाट कसरी जोगाउन सकिन्थ्यो भनेर सचेत गराउनु हो । आत्महत्याको समाचार बनाउँदा को बिते, कसरी बिते अथवा ठूला व्यक्तिले आत्महत्या गरे भन्नु भन्दा पनि आत्महत्या गर्नुका कारणहरु र जोगाउन के के गर्न सकिन्थ्यो भनेर लेखिदिनुपर्छ । यसले गर्दा त्यस्तै प्रकारका लक्षण भएका व्यक्तिहरुले आफ्नो समस्यासँग उक्त समाचार मिलेको अनुभव गरेर त्यहाँ भनिए जस्तै समाधान खोज्न सक्दछन् । उचित निकाय सम्म पुग्न सकेमा त्यस व्यक्ति आत्महत्या गर्न बाट जोगिन सक्छ । आत्महत्याबाट बच्ने उपायहरु र यसबाट बाँच्न सम्भव छ भनेर समाचारमा राखिनुपर्छ ।

नेपाली मिडियाको विश्लेषण गर्दा यी कुराहरु देख्न सकिन्छ ?

नेपाली मिडियाहरुलाई हेर्दा उनीहरु बिक्रीको लागि अथवा आफ्नो समाचार बिकाउन मात्र प्रयास गरिरहेको जस्तो लाग्छ । हाम्रो सामाजिक दायित्व पनि छ, तर त्यता तर्फ हामी जान सकेका छैनौँ कि जस्तो लागिरहेको छ । अझ स्वास्थ्य पत्रकारितामा त हाम्रो प्रमुख दायित्व भनेको शिक्षा दिनु हो । यही एउटा पत्रकारिता हो जसमा यसो गर्नुहोस भनेर जानकारी दिइन्छ । अरु पत्रकारिताहरुमा घटनाको विवरण मात्र दिइन्छ । स्वास्थ्य पत्रकारिता भनेकै एउटा सिकाउने प्रक्रिया हो, जसमा दुबै तर्फ सूचना आदान प्रदान हुन्छ ।  हामीले सूचना दिएपछि पाठकबाट सुझाव पनि आउँछ । त्यसैले हामीले आफैँबाट यसको सुरुवात गर्नुपर्दछ । विशेषज्ञहरुसँग पनि सल्लाह लिन सकिन्छ ।

यस विषयमा मिडियाकर्मीहरुमा सचेतनाको अभाव भएको मान्नुहुन्छ ?

एउटा हालैको घटनामा संगीतसँग सम्बन्धित मान्छेको आत्महत्याले निधन भएको सबैलाई थाहै छ । त्यस घटनामा रेडियो देखि सबैतिर हेर्ने हो भने सबैले विभिन्न दृष्टिकोणबाट लेख्नुभयो तर कथा, व्यथा मात्रै । अर्थात नेपाली पाठक, श्रोता, दर्शकलाई घटना कसरी भयो, किन भयो र आत्महत्या कसरी गरियो भन्ने कुराले मात्र जोड्ने प्रयास भयो । तर आत्महत्या गर्नुको मुख्य कारण के थियो, कसरी जोगिन सकिन्थ्यो र उक्त कारणलाई हटाउन के गर्न सकिन्थ्यो भनेर कोही केन्द्रित भएनन् । शुन्य प्राय नै थियो, यसमा हामी चुकेको नै हौँ । किनभने हाम्रो मिडियामा राजनीतिक रिपोर्टिङ बढी छ । स्वास्थ्यसँग, त्यो पनि विशुद्ध मानसिक स्वास्थ्यसँग नै सरोकार राखेर खोजीनिती गर्ने मान्छे त लगभग दुर्लभ नै छन् । यदि प्रयास गर्यो भने त राम्रो हुन सक्छ तर अहिलेसम्म यो कुरालाई यसरी बाहिर ल्याउने व्यक्ति छैनन् ।

एउटा मिडिया हाउस अथवा एउटा पत्रकारको त्यो उत्तरदायित्व बहन किन नभएको होला अथवा के गर्यो भने त्यो कुरा ल्याउन सकिन्छ होला ?

मिडिया भनेको समाजको प्रतिबिम्ब हो । तर अहिलेसम्म हामी त्यति सचेत छैनौँ जति हुनु पर्ने हो । यदि हाम्रो समाजले मिडियाले पस्किएका सामाग्रीहरु नपढिदिने हो भने मिडियाले पनि पस्किन छोड्छ । उसले आफ्नो ट्रयाक परिवर्तन गर्नुपर्छ । समाजले जे माग गर्नु पर्ने हो, जे आवश्यकता छ त्यसलाई पनि उठान गर्न सकिरहेको छैन । अनावश्यक कुरालाई बढी महत्व दिईरहेको छ ।

यदि मिडियाकर्मीको एउटा रिपोर्टले ४ जना नेपालीलाई आत्महत्या गर्न बाट जोगाउन सकियो भने त्यसको मूल्य कति हुन्छ ? अरब, खरब भन्दा ठुलो कुरो त्यही हो । त्यतातर्फ हाम्रो समाज र हामी पनि जिम्मेवार हुनु पर्दछ । र समाजले त्यतातर्फ दिशानिर्देश गर्यो भने मिडिया पनि त्यसैगरी लेख्न बाध्य हुन्छ ।

समाजमा कसैले आत्महत्या गर्ने प्रयास गर्यो अथवा गरिसक्यो भने त्यो सूचना छापा, रेडियो अथवा कुनै न कुनै माध्यमबाट अरुसम्म पुग्छ । उक्त घटनाको विवरण दिँदा यो एउटा मानसिक स्वास्थ्य समस्या मात्रै हो र यसको उपचार गरियो भने निको हुन्छ भन्ने शब्द लेखिदिए अथवा भनिदिए यसले कस्तो भुमिका खेल्छ आत्महत्या न्यूनीकरणका लागि ?

यसले धेरै ठुलो भुमिका खेल्छ । आत्महत्या गर्नु अथवा त्यसबारे सोच्नु एउटा मानसिक रोग हो र यसको उपचार छ । यो हामीले बुझ्नै पर्छ ।

तपाई कान्तिपुर पब्लिकेशनमा हेल्थ बिट हेरिरहनु भएको छ । कान्तिपुर पब्लिकेशनले आत्महत्याको सवाललाई कसरी हेरिरहेको छ ?

अघि भनिएका ठूला संगीतकारले आत्महत्या गर्दा हामीले आत्महत्याको ईस्यु उठाएर यो निको हुन सक्छ है भन्ने सन्देश दियौँ । सब भन्दा पहिले हामीले आत्महत्याको वर्णन गयौँ र त्यसपछि त्यसलाई कसरी रोकथाम गर्न सकिन्थ्यो भनेर पनि ध्यान दियौँ । हामीले निरन्तर मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयास गरिरहेका छौँ र त्यस सम्बन्धि समाचारहरु लेखिरहेका छौँ । यो विषयलाई हामीले उपेक्षा गरेका छैनौँ, निरन्तरता नै दिइरहेका छौँ र भविष्यमा पनि दिइरहने छाँै ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ यस विषयमा ?

म हाम्रो श्रोता र पत्रकार साथीहरुलाई यही भन्न चाहन्छु कि यदि कोही व्यक्तिलाई डिप्रेसन अथवा उदासीनता रोग लागेको छ भने उसमा आत्महत्याको भावना आउन सक्दछ । हरेक व्यक्तिलाई कहिलेकाहीँ आफ्नै जीवन विरक्त लाग्नु स्वभाविक हो । तर त्यो केही क्षण विशेषको मात्र हो, त्यस्ता सोचलाई हटाउन सकिन्छ । तर यदि कोहीमा यस्ता कुराहरु बढी मात्रामा देखियो भने त्यस्ता व्यक्तिले संकेत दिन्छन् । यदि आफ्नो साथीहरु वा छेउछाउमा बस्ने कोहीमा आत्महत्याको सोच भएको थाहा पाउनुभयो भने कृपया उहाँहरुलाई उपचार प्रकृयामा लिएर जानुहोस । एकजनाको ज्यान सम्भावित मृत्युबाट जोगाउन सकियो भने यो भन्दा ठुलो पुण्य के होला र ?

 

(रेडियो कार्यक्रम बाँचे संसार जितिन्छ हरेक मंगलबार साँझ ७ बजे रेडियो मेलम्ची १०७.२, रेडियो सिन्धु १०५ र रेडियो हेलम्बु ८९.६ मेगाहर्जमा सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ ।)

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us