आत्महत्याको जोखिम कम गर्न प्रहरीको भुमिका : कृष्ण गिरी

(यस अन्तर्वार्ता बाँचे संसार जितिन्छ – भाग २ बाट साभार गरिएको हो । बाँचे संसार जितिन्छ अष्ट्रेलियन एडको आर्थिक सहयोग र निहारिका प्रोडक्सनको प्राविधिक सहयोगमा टि.पि.ओ. नेपालद्वारा प्रस्तुत गरिएको आत्महत्या सम्बन्धि रेडियो कार्यक्रम हो । यस भागमा मिलन गहतराजले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक कृष्ण गिरीसँग आत्महत्याको जोखिम कम गर्न प्रहरीको भुमिका कस्तो हुन्छ र कसरी काम गर्न सकिन्छ भनेर कुराकानी गर्नुभएको छ ।)

 

तपाईले आत्महत्या गर्न लागेको मान्छेलाई बचाउनु भएको छ ?

यो मेरो आफ्नै अनुभवको कुरा हो । जागिर खानु भन्दा अगाडि बर्खाको समयमा एक जना बुवा खोलाको छेउमा आफ्नो देह त्याग गर्न लाग्नुभएको थियो । मैले उहाँलाई त्यहाँबाट फिर्ता गर्न सफल भए ।

त्यो त अन्तिम अवस्था थियो, त्यसरी बचाउँदा गाह्रो भएन ?

मेरो आफ्नो विश्लेषण र अनुसन्धानले के भन्छ भने, अब मर्छु नै भनेर विचार गरेको मानिसले अन्तिम ५ सेकेन्डमा एकदमै समर्पित भएर लाग्छ । उक्त समयमा कसैले उसलाई बचाउन सक्यो भने “ए म त मर्न पो लागेको रहेछु” भनेर आफै स्वतः सचेत हुँदो रहेछ । कोही मान्छेलाई बचाउनु ठूलो देन हो जसले गर्दा भित्री मनमा आनन्दित महसुस हुन्छ । अझै पनि बर्षमा एक दुई पटक घर पुग्दा मैले अघि भनेको बुवासँग कहिलेकाहीँ भेट भइहाल्यो भने मलाई दोस्रो जीवन दिनुभएको बाबु भन्नुहुन्छ ।

कामकै सिलसिलामा म साँगा चोकमा रहेको बेलामा पनि आत्महत्या प्रयासको धेरै केस भईरहेको थियो । त्यतिबेला मैले त्यस ठाउँमा एउटा जनचेतना कार्यक्रम चलाउन सफल भए । उक्त कार्यक्रम पश्चात् कसैले आफूलाई मर्न मन लागेको कुरा घरमा भन्न नसकेको खण्डमा मलाई आएर बताउनुहुन्थ्यो र के गर्न सकिन्छ भनेर सोध्नुहुन्थ्यो । अहिले पनि सिन्धुपाल्चोक कै कतिपय साथीहरुले फोन गरेर समस्या भएको कुरा बताउनुहुन्छ । मैले सके काउन्सिलिङ गर्छु , नसके हस्पिटलसम्म जाने उपाय बताइदिने गरेको छु ।

अहिले नेपाल प्रहरीमा आत्महत्या न्यूनीकरणमा सहयोग पु¥याउने त्यस्ता केही खास कार्यक्रमहरु छन् ?

प्रहरीले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरिरहेको छ । यहाँले पनि सुन्नुभएको होला, पहिला ““Community police”, “Service with a smile”  लगायतका कार्यक्रम थिए भने अहिले “प्रहरी मेरो साथी” कार्यक्रम छ । प्रत्येक प्रहरीको काम हेर्ने हो भने हजार भन्दा बढी कामहरु छन् , यही मात्र भन्ने होईन । प्रहरी ऐनले नै तोकिदिएको छ कि अपराध पत्ता लगाउनु, अपराध रोकथाम गर्नु, देशमा सुयोग्य शासन, शान्ति सुरक्षा र अमन चयन कायम गर्नृ नै प्रहरीको कर्तव्य हो ।

विश्वमा आत्महत्या गर्ने मुलुकहरु मध्ये नेपाल आठौँ हो भने दक्षिण एसियाली मुलुकहरुमा श्रीलङ्का पछाडिको दोस्रो देश हो । नेपालमा पनि आत्महत्याको सबैभन्दा बढी जोखिम भएको जिल्लामा ईलाम, दोस्रोमा पाल्पा र तेस्रोमा सिन्धुपाल्चोक रहेको छ । यस विषयमा मात्र केन्द्रित नभएता पनि प्रहरी अधिकृतहरु जुन जुन ठाउँमा खटिनुभएको छ, त्यहाँका सामाजिक संंघ˗सस्थाहरुसँग समन्वयात्मक भूमिका निर्वाह गरेर आत्महत्या न्यूनीकरण सम्बन्धि विभिन्न कामहरु गरिरहनुभएको छ ।

तपाई सिन्धुपाल्चोक पुगेर आत्महत्याकै विषयमा काम गर्नुको मुख्य कारण के थियो ? त्यहाँ रहेर तपाईले कसरी काम गर्नुभयो ? र आत्महत्या न्यूनीकरणको लागि तपाईको प्रयास कस्तो रह्यो ?

२०७२ को महाभुकम्प पछाडि सिन्धुपाल्चोक जिल्लामा मेरो पोष्टिङ भयो । त्यहाँ हामी धेरै जसो उद्धार, राहत र पुनस्र्थापनाको लागि लागिपर्यौ । धेरै कामहरु मध्ये आत्महत्यालाई प्राथमिकता दिनुको कारण के थियो भने भुकम्प आइसकेपछि मान्छेले खाने, बस्ने र अन्य कुराहरु गुमाए र त्यतिबेला मात्रै सिन्धुपाल्चोकमा लगभग ६˗७ महिनाको अवधिमा नेपालकै सबै भन्दा बढी ७२ जनाको आत्महत्याको तथ्यांक थियो । त्यहाँको ठुलो सिरुवारी गाविसमा म पुग्नु भन्दा अगाडिको रेकर्डमा पनि २१ जनाले आत्महत्या गर्नुभएको थियो । अनि मलाई लाग्यो समाजको अरु अपराध भन्दा पनि जटिल सामाजिक समस्या यो हो ।

कोही मान्छे बाँच्नु भनेकोे नै जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि हो । पछि मैले टि.पि.ओ. नेपाल लगायतका विभिन्न संघ˗सस्थाबाट तालिमको अनुभव पाएँ जसलाई मैले सदुपयोग गर्न सकेँ । मान्छेले आत्महत्या किन गर्छन, यसलाई कसरी न्यूनीकरण गर्ने र तनाव व्यव्स्थापन कसरी गर्ने भनेर मैले सामाग्रीहरु तयार पारेँ । जुन ठाउँमा बढी घटना हुन्छ, के कारणले त्यो घटना भइरहेको छ भनेर त्यही ठाउँमा गएर अध्ययन गरेँ र त्यही अनुसार योजना पनि बनाएँ । त्यहाँ रहेका विभिन्न सहकारी संस्था, विद्यालय, क्लबहरुले सहयोग गर्नुभयो । उहाँहरुको समन्वयमा हामीले ठूलो जनमानसलाई एकठाउँमा ल्याएर वृहत रुपमा जनचेतनामूलक कार्यक्रम संचालन गर्यौँ र सफल पनि भयौ । त्यसपश्चात् सिन्धुपाल्चोक जिल्लामा आत्महत्याको दर घटेको थियो । अहिले पनि त्यहाँका साथीहरुले त्यतिबेलाको ज्ञानले गर्दा अहिले यहाँ आत्महत्या धेरै नै घटेको छ भन्नुहुन्छ । आफूले काम गर्ने क्षेत्रको जनताले केही न केही परिवर्तन महसुस गर्दा अत्यन्तै खुसीको महसुस हुन्छ ।

यदि कसैले कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आत्महत्या गर्न उक्साइरहेको छ भने त्यो अपराध भित्र पर्छ कि पदैन ? यदि पर्छ भने उसले पाउने सजाय के हुन्छ ?

सरकारी मुद्धा सम्बन्धि ऐन २०४९ अन्तर्गतको अनुसुची १ मा रहेका यस्ता मुद्धाहरु प्रहरीले हेर्ने गर्दछ । त्यसमा यस्ता खालका अपराध गरेमा यस्तो सजाय पाउने भनेर अहिले सम्म व्यवस्था भएको छैन । तर पनि त्यो अपराध त अपराधै हो । कसैलाई मर्न बाध्य तुल्याउने, गाली, बेइज्जती गर्ने, सामाजिक कलह फैलाउने, घरेलु हिंसा गर्ने आदि विविध तरिकाका मुद्धा अहिले पनि चलिरहेको अवस्था छ । तथापि नेपालको नयाँ प्रस्तावित कानुनी व्यवस्थामा आचार संहिता २०७१ दफा १८३ मा कसैले कसैलाई आत्महत्या गर्नको लागि बाध्य बनाएको केसमा ५ वर्ष सम्मको कैद र ५० हजार सम्मको जरिवानाको व्यवस्था गरिएको छ । यसको कानुन नै आइसकेपछि भने आत्महत्या अझ नियन्त्रण हुन्छ भन्ने मलाई लाग्छ । कसैले गरेको कामले अरुलाई अप्ठ्यारो अवस्था सिर्जना गर्छ र सामाजिक कलह फैलाउने काम गर्छ भने त्यो अपराध हो । त्यसैले अहिलेसम्म कानुनी व्यवस्था नभए पनि यो व्यवस्था आइसकेपछि आत्महत्या नियन्त्रण गर्न अझै ठुलो सहयोग पुग्ने देखिन्छ।

समाजकै एउटा समस्याको रुपमा रहेको आत्महत्यासँग सम्बन्धित रहेर नेपाल प्रहरीले काम गरिरहँदा केही विशेष अथवा उत्साहमूलक कामहरु भएका छन् ?

अघि भनेजस्तै सिन्धुपाल्चोकमा जुन किसिमले आत्महत्या बढिरहेको थियो, त्यतिबेला हामीले यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर योजना बनायौँ र समाजका विभिन्न संघ˗सस्थाहरुसँग मिलेर जनचेतनामूलक कार्यक्रम गर्यौँ । जसले गर्दा त्यहाँ आत्महत्याका घटनामा केही नियन्त्रण भएको पाइयो ।

अर्को एउटा रोचक कुरा के छ भने मार्च ११, २०१६ मा पूर्वाञ्चलका एकजना कलेज पढ्दै गरेको केटाले राति १ बजे फेसबुकमा सुसाइड नोट लेखे र आफ्नो फेसबुक बन्द गरेर कतै गए । यसको डाटाबेस आयरल्याण्डमा हुँदो रहेछ । उताबाट नेपाल प्रहरीलाई तुरुन्तै खबर आयो । त्यसपछि सम्बन्धित युनिटमा जानकारी गराएर उक्त मान्छेलाई हामीले राति नै आत्महत्या गर्नबाट बचाउन सफल भयौँ । हामीसँग विशेषज्ञ सेवा उपलब्ध नभएता पनि त्यसपछि हामीले उनलाई मनोविमर्शकर्ताकोमा पुर्यायौँ । उनी अहिले एकदमै आरामको जिन्दगी बिताइरहेका छन् ।

यस्ता धेरै ठाउँहरुमा हामीले काम गरेका छौँ र गर्नुपर्ने कामहरु पनि हामीसँग अत्यधिक मात्रामा छन् । तर पनि समाजमा प्रत्यक्ष रहेर जहाँ जे समस्या छन् त्यसलाई कसरी समाधान गर्दा समाज उन्नति र प्रगतिको बाटो तर्फ लाग्छ, समाजमा शान्ति, सुरक्षा र अमन चयन कायम हुन्छ भनेर हामी त्यसतर्फ सधैँ क्रियाशील छौँ र लागिरहने छौँ ।

एउटा व्यक्तिगत प्रश्नः कहिलेकाहीँ तपाईहरुलाई नै आत्महत्याको विचार आउँछ कि आउँदैन ?

जिन्दगीमा समस्या नआउने होइन । दुईचार दिन मान्छेको जिन्दगीमा काम भएन भने मनमा नकारात्मक कुरा खेल्नु स्वभाविक हो । मेरो व्यक्तिगत रुपमा भन्ने हो भने यदि मलाई त्यस्तो खालको सोच आइहाल्यो भने मैले नियन्त्रण गर्न सक्छु । यो बलिरहेको चिम पनि कोही विद्वानले करिब एकहजार पटक असफल भएर नै बनाउन सफल भएका हुन् । कसरी बत्ती बल्दैन भनेर धेरै उपायहरु खोजेपछि बल्ल बत्ती बल्यो । त्यसैले यो संसारलाई उज्यालो बनाउने देखि संसारमा धेरै योगदान गर्ने मान्छेसम्म सबैलाई अप्ठ्यारा स्थितिहरु आउँछन् । यसबाट बच्नका लागि आफैँले आफैँलाई स्वः नियन्त्रण गर्नुभन्दा ठुलो हतियार संसारमा केही पनि छैन । योगा र ध्यान जस्ता विभिन्न किसिमका उपायहरु पनि अपनाउन सकिन्छ ।

जसलाई आत्महत्याको सोच आएको छ उसले जिन्दगीको अर्थ बुझ्यो र अरु कसैको कुरा नसुनी मनोविमर्शकर्ताकोमा गयो भने ऊ बाँच्न सक्छ हैन त ?

एकदमै । जिन्दगी नै संघर्ष हो । समस्या आउँछन् , तर समस्या आयो भन्दैमा देह त्याग गरिहाल्नु पर्ने स्थिति हँदैन । यसलाई नियन्त्रण गर्न सकिन्छ । १ मिनेट मौन धारण गर्नुहोस । तपाईलाइ आत्महत्या नै गर्छु, मेरो यो संसारमा अरु केही नै छैन भन्ने सोच आयो भने आफ्नो परिवारको बारेमा सोच्नुहोस् र यो कार्यक्रमलाई पनि एकपटक सम्झिनुहोस । अन्तिममा यही भन्न चाहन्छु ।

 

(रेडियो कार्यक्रम बाँचे संसार जितिन्छ हरेक मंगलबार साँझ ७ बजे रेडियो मेलम्ची १०७.२, रेडियो सिन्धु १०५ र रेडियो हेलम्बु ८९.६ मेगाहर्जमा सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ ।)

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us