मन बुझाउने परामर्श

कान्तिपुर

काठमाडौँ — स्नातकोत्तर गरेका बाँकेका ४० वर्षीय एक युवक विद्यालयमा पढाउँछन् । परिवारमा पत्नी र दुई सन्तान छन् । तर जब उनको बाहिरी महिलासँग प्रेमसम्बन्ध भएको खुल्यो, एक वर्षयता पत्नीसँग दैनिक झगडा हुन थाल्यो । बाहिरी महिलासँग सम्बन्ध गाँसेर उनले गल्ती महसुस गरे, टाढिए । पत्नीसँग क्षमा मागे तर उनले माफ दिइनन् । यसले गर्दा उनमा मनोसामाजिक समस्या बढ्न थाल्यो । एक्लै बस्न रुचाउने, नकारात्मक सोचहरू आउने, आत्मग्लानि हुने, सधैं निराश लाग्न थाल्यो ।

आफूलाई मानसिक समस्या भएको उनले साथीभाइसँग सुनाउन पनि सकेनन् । विद्यालयमा पढाउन पनि नसक्ने भए । एक दिन रेडियो सुन्दै गर्दा मनोसामाजिक समस्या र परामर्श पाइनेबारे सूचना सुने । बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालबाट फोनबाटै निःशुल्क परामर्श सेवा लिन सकिने र समस्या समाधान हुने थाहा पाए । लगत्तै टीपीओ नेपालको हेल्पलाइन नम्बर १६६० ०१ ० २००५ मा सम्पर्क गरेर आफ्ना समस्या सुनाए ।

मनोविमर्शकर्ताले फोनबाटै चार पटक परामर्श दिएपछि उनलाई सकारात्मक सोच आउन थाल्यो । परामर्शकर्ताले गहिरो सास फेर्ने र आराम गर्ने विधि सिकाए । उनकी पत्नीलाई पनि परामर्श दिए । परामर्शपछि दम्पतीको सम्बन्धमा सुधार भयो । उनी अब पढाउने काममा नियमित छन् । ‘मानसिक विक्षिप्ततामा पुगिसकेको थिएँ, निराशामा जीवन सकिने भयो भन्ने सोच आइरहन्थ्यो, परामर्शले नयाँ जीवन पाएको महसुस भइरहेको छ, धेरै खुसी लागेको छ,’ परामर्शकै चरणमा रहेका ती युवकलाई उद्धृत गर्दै टीपीओ नेपालका विमर्शकर्ता राधा बस्नेतले भनिन् ।

ती युवकजस्तै टीपीओको हेल्पलाइन नम्बरबाट सन् २०२०/२१ मा १ हजार ९ सय २१ जनाले मानसिक स्वास्थ्य परामर्शको सेवा लिए । जसमा १ हजार ६९ पुरुष, ८ सय ५ महिला र लैंगिकता नखुलेका ४७ जना छन् । टीपीओका कार्यक्रम विभागीय प्रमुख पीताम्बर कोइरालाका अनुसार परामर्श लिनेहरू मानसिक चिन्ता, डर, भय, डिप्रेसन भएका, आत्महत्याको सोच आउने, आत्महत्या प्रयास गरेका, लैंगिक हिंसामा परेकाहरू थिए ।

मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्तप्रसाद अधिकारीका अनुसार मानसिक स्वास्थ्य समस्या जोकोहीलाई पनि हुन सक्छ । यसको कारक सामाजिक परिवेश, वातावरण, द्वन्द्व, भूकम्प, विपद् तथा कोरोनाजस्ता महामारी आदि हुने गरेको छ । निद्रा गडबड हुनु, भोक नलाग्नु, जलन हुनु, सोच परिवर्तन भइरहनु, टाउको तथा जीउ दुख्ने, आलस्य हुने, सास फेर्न गाह्रो हुने यसका मुख्य लक्षणहरू हुन् । उचित परामर्शले समस्या निदान हुन्छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ का अनुसार मुलुकमा नसर्ने रोगहरूको समस्यामध्ये १८ प्रतिशत मानसिक रोग हुने गरेको छ । अपांगता गराउने प्रमुख १० कारकहरूमध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०७७ को नतिजाअनुसार मुलुकमा १८ वर्षमाथिकालाई १० प्रतिशत र १३ देखि १७ वर्षका ५.२ प्रतिशतमा यस्ता देखिएको छ ।

टीपीओले २०७२ को वैशाखको भूकम्पपछि सञ्चालनमा ल्याएको हेल्पलाइन सेवालाई कोरोना महामारीमा झनै सक्रिय बनाएको छ । हटलाइन नम्बरसँगै ह्वाट्सएप र भाइबरबाट पनि परामर्शको सेवा दिने गरिएको छ । ‘नकारात्मक सोच र वातावरणले सिर्जना हुने मानसिक समस्या महामारीले झन् थपिदियो । परामर्श लिन जान्छु भन्नेलाई पनि आवजावत सहज थिएन, हामीले फोनबाटै परामर्श गर्‍यौं,’ प्रमुख कोइरालाले भने, ‘प्रत्यक्ष भेटघाट गरेर बोल्न, खुल्न नचाहनेलाई टाढाबाट गोपनीयता राखेर सेवा दिन फोनबाट सजिलो भएको छ ।’

कोरोनाको महामारी फैलिएपछि ललितपुरकी एक महिलाले बिरामी छोरा स्याहार्न गैरसरकारी संस्थाको जागिर छोड्नुपर्‍यो । छोरालाई सानैदेखि स्वास्थ्य समस्या छ । एक जनाले हेरचाह गरिरहनुपर्छ । छोराको अस्वस्थताको निहुँ बनाएर पतिले बेलाबेला गाली गर्दै आएका थिए । महामारी सुरु भएपछि उनी बेग्लै बस्न थाले । पतिको असहयोगकै कारण छोरा स्याहार्न जागिर छोड्न बाध्य भएकी ३६ वर्षीया उनलाई मानसिक स्वास्थ्य समस्या देखिन थाल्यो । जतिबेलै तनाव महसुस गर्न थालिन् । टीपीओबारे थाहा पाएपछि सम्पर्क गरेर समस्या सुनाइन् । मनोविमर्शकर्ताले उनलाई ६ पटक परामर्श दिए । पतिलाई पनि परामर्श दिए । अहिले पारिवारिक सम्बन्ध सुध्रिएको छ । उनले फेरि जागिरलाई निरन्तरता दिन पाएकी छन् ।

महामारीका बेलामा आत्महत्या दरसमेत बढेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । गत जेठमा दैनिक २१ जनाले आत्महत्या गरेको प्रहरी अभिलेख छ । यसको प्रमुख कारक मानसिक समस्या हो भन्ने भएपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालयले हेल्पलाइन सेवा राखेको छ । यसलाई पनि टीपीओले नै सञ्चालन गर्छ । यो हेल्पलाइनमा सन् २०२१ को मेदेखि डिसेम्बरसम्म २ हजार १ सय ६ जना फोन सम्पर्कमा आएका थिए । लैंगिक हिंसा सम्बन्धित राष्ट्रिय महिला आयोगले सञ्चालन गर्दै आएको हेल्पलाइन नम्बर ११४५ बाट आएका मनोसामाजिक समस्याका बिरामीको परामर्श सहायता पनि टीपीओले नै हेर्ने गर्छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ अनुसार गरिब, विपन्न, बेवारिसे, महिला, बालबालिका, द्वन्द्व प्रभावित, हिंसा दुर्व्यवहारका सिकार, ज्येष्ठ नागरिक, यौनिक तथा लैंगिक अल्पसंख्यकहरू मानसिक स्वास्थ्यको बढी जोखिममा हुन्छन् । तर टीपीओमा भने मनोसामाजिक सेवा लिन सम्पर्कमा आउनेहरू बढी पुरुष, शिक्षित तथा खसआर्य समुदायका छन् । यसबाट मानसिक स्वास्थ्य सेवा समुदाय केन्द्रित र लक्षित वर्गसम्म नपुगेको देखिएको छ । टीपीओका प्राविधिक सल्लाहकार सुरज कोइरालाका अनुसार मानसिक स्वास्थ्यप्रतिको नकारात्मक सोचाइले समस्या जटिल बन्छ । ‘शिक्षित परिवारमा पनि कसैलाई मानसिक समस्या देखिन थाल्यो भने तुरुन्तै परामर्श लिन जाँदैनन्, यसले जोखिम बढाउँछ,’ उनले भने । कम्प्युटर, मोबाइल, सामाजिक सञ्जालहरूको दुरुपयोग, सामाजिक–आर्थिक समस्या, विपद्, महामारीहरूले मानसिक समस्या झन् बढाएको उनको अनुभव छ । ‘समस्यामा परेकाहरू पहिलेभन्दा तुलनात्मक रूपमा खुल्न थालेका छन्, यसले गर्दा परामर्श दिन सजिलो भएको छ,’ उनले भने । मानसिक रोगको उपचार गर्दा पाँच प्रतिशतले मात्रै औषधि खानुपर्ने हुन्छ । धेरैजसोलाई परामर्शबाटै निको पार्न सकिने उनी बताउँछन् ।

प्रकाशित : फाल्गुन २, २०७८ ०८:५३

 

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us