आत्महत्या न्यूनीकरणमा अभिभावकको भूमिका : डा.अरुण राज कुँवर

(यस अन्तर्वार्ता बाँचे संसार जितिन्छ ˗ भाग ६ बाट साभार गरिएको हो । बाँचे संसार जितिन्छ अष्ट्रेलियन एडको आर्थिक सहयोग र निहारिका प्रोडक्सनको प्राविधिक सहयोगमा टि.पि.ओ. नेपालद्वारा प्रस्तुत गरिएको आत्महत्या सम्बन्धि रेडियो कार्यक्रम हो । यस भागमा मिलन गहतराजले कान्ति बाल अस्पतालका मानसिक बालरोग विशेषज्ञ डा.अरुण राज कुँवरसँग बालबालिकामा के कारणले मानसिक समस्या हुन्छ र त्यसबाट बच्न कस्तो सर्तकता अपनाउनु पर्छ भनेर सोध्नुभएको थियो ।)

Photo: FORUT

आत्महत्या गर्नु अथवा आत्महत्याको प्रयास गर्नु मानसिक स्वस्थ्य समस्याको कारणले गर्दा हो भनिन्छ । के बालबालिका पनि मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्या अथवा आत्महत्याको प्रयास सम्म पुग्ने गर्दछन् ?
हो । युवा, बालबालिका र टिनएजर्समा अलि आवेगपूर्ण (impulsive) व्यवहार हुन्छ । आवेगपूर्ण भन्नाले केही चिज मनमा आयो अथवा रिस उठ्यो भने झड्याङझुडुङ गर्ने र नसोची केही काम गर्ने भन्ने बुझिन्छ । चाहे बालबालिका होस या ठुलो मानिस, आत्महत्या गर्ने ९० प्रतिशत मानिसमा कुनै न कुनै रुपमा मानसिक समस्या हुन्छ । सबैभन्दा मुख्य समस्या भनेको डिप्रेसन नै हो । त्यसपछि अरु विभिन्न किसिमका मानसिक समस्याहरु हुन सक्दछन् ।

बालबालिकाहरु मानसिक स्वास्थ्य समस्याको कारणसम्म पुग्ने अवस्था के ले ल्याइदिन्छ ?
मानसिक समस्याका मुख्य दुईवटा कारणहरु हुन्छन् । एउटा वंशाणुगत, अर्को वातावरणीय । धेरै ठाउँमा भने यी दुईवटाको अन्तक्रिया हुन्छ । तर स्कुलमा वा घरमा कहिलेकाहीँ बुवाआमाको झगडा, साथीभाईको प्रेसर, साथीभाईले गिज्याउने, धेरै दुख दिने जस्ता कुनै पनि चिजले धेरै तनाव दियो भने त्यसले पनि मानसिक समस्या सिर्जना गर्न सक्छ । कसैको वंशाणुगत कारण पनि हुन सक्छ । वंशाणुगत कारण छ भने साधारण मान्छेले सामना गर्न सक्ने तनाव उसले सामना गर्न सक्दैन । त्यस्तो अवस्थामा एक दुई हप्तामा तङ्ग्रिनुको सट्टा झन अवस्था बिग्रन्छ । कहिलेकाहीँ वंशाणुगत कारण नै नभए पनि तनाव धेरै भयो भने त्यतिकै पनि मानसिक समस्या हुन सक्छ ।

वशांणुगत कारणले भएका मानसिक स्वास्थ्य समस्यामा सामनाका उपायले खासै काम गदैन भने के गर्ने ? कसरी उपचार गर्ने ?
साधारण सामनाका उपायले हुँदैन । यदि कोही सानो बच्चाको परिवारमा पहिले पनि २, ३ पटक आत्महत्या भएको घटना छ र उसको मनस्थिति हेर्दा कहिलेकाहीँ एकदम उदासीन देखिन्छ भने अहिले देखि नै परामर्श दिनुपर्छ । उसलाई आत्महत्याको विचार आएपछि उपचार गर्छु भनेर बस्नु हुँदैन । पहिलेदेखि नै परामर्शदाता, मनोविद् वा मनोचिकित्सक कहाँ जाने, कुरा गर्ने गर्नुपर्छ । उसलाई हामीले जिन्दगीमा तनाव हुने र मानसिक समस्या बढाउने चिजहरुको बारेमा जानकारी दिने र त्यसको सामना गर्न सिकाउनुपर्छ । अर्को, जीवनमा आउने विभिन्न गाह्रो कुराहरुलाई कसरी सहजीकरण गर्ने भनेर पहिले नै प्रोत्साहन गर्नुपर्छ । त्यससँगै नियमित परामर्शकर्तासँग देखाइरहनु पर्छ । त्यति गर्दागर्दै पनि समस्या आउन थाल्यो भने तुरुन्तै अर्को तहको उपचार गर्नुपर्छ ।

कुनै विशेष उमेर समुहका बालबालिकाले आत्महत्या गर्न सक्ने सम्भावना बढी हुन्छ कि हुँदैन ? 
अलि बढी हुने भनेको टिनेज अवस्था हो । १३, १४ देखि १७, १८ वर्षमा । यो अवस्थामा उनीहरुको दिमाग ठुलो मान्छेको जस्तो पनि हुन्छ तर पूर्ण रुपमा ठुलो मान्छेको जस्तो भइसकेको हँुदैन । रिस उठ्यो भने झगडा गरिहाल्ने, साथीले चोर्न जाऊँ भन्यो भने चोरिदिने गर्छ । अनि उसलाई मुख्य गरी भविष्यको बारेमा सोच्न पनि गाह्रो भइरहेको हुन्छ । यो उमेर भनेको विकास हुने अवस्था हो जहाँ दिमाग नै आफैँ अन्योल हुने चरणमा हुन्छ । त्यसै कारणले यो उमेरमा अलि बढी समस्या हुने मौका हुन्छ ।

यदि कसैलाई मानसिक स्वास्थ्य समस्या छ र उसलाई आत्महत्याको सोच आइरहेको छ भने उसले कुनै न कुनै रुपमा संकेत दिन्छ भनेर भनिन्छ । बालबालिकाहरुले कस्तो संकेत दिन्छन र अभिभावकले ती संकेतहरुलाई कसरी बुझ्ने ? 
पहिलो कुरा त यदि तपाईको बच्चाको व्यवहारमा बद्लावट आयो (धेरै खुसी अथवा धेरै दुखी हुने, साथीभाई, घर परिवारसँगको व्यवहारमा परिवर्तन आउने, स्कुलमा गर्ने बानी व्यवहार र पढाइमा परिवर्तन आउने, दिनचर्यामा परिवर्तन जस्तै सुतिराख्ने, बाहिर नजाने, धेरै खेल्ने र रमाउने बच्चा नरमाउने) भने मेरो बच्चालाई मानसिक समस्या हुन थाल्यो कि भनेर बुझ्नु पर्दछ । यदि बच्चाले मर्ने कुरा गर्न थाल्यो भने तपाईले उसलाई के भयो, कहिले त्यस्तो आत्महानी या आत्महत्याका विचार आउँछन् भनी सिधै सोध्नु पर्छ । यस्तो सोच आउने व्यक्तिलाई आफ्नो समस्या व्यक्त गर्न गाह्रो हुन्छ तर कसेैले सोधिदिएमा उसले खररर भन्छ । त्यसैले शङका लागेको छ भने सिधै सोध्दा हुन्छ । जस्तो कुनै बच्चा स्कुल गएन भने तपाईले ऊ किन स्कुल गएन भनेर बुझ्नु पर्छ । स्कुल नजानु पनि मानसिक समस्याको कारण हुन सक्छ । स्कुलमा समस्या हुन सक्छ । स्कुलको मास्टरले कुटिरहेको हुन सक्छ, साथीभाईले धेरै गिज्याएका हुन सक्छन् , स्कुल जाँदा बुवाआमा झगडा गरेर मर्छन् भनेर डर लागेको हुन सक्छ । स्कुल नगएका कारण सिधै सजाय दिनुभन्दा यस्तो किन भइरहेको छ भनी उसँग बसेर कुरा गर्ने, बुझ्ने कोसिस गर्ने र त्यसलाई हल गर्ने कोसिस गर्ने गर्नुपर्दछ । यदि त्यसबाट पनि हँुदैन भने परामर्श गनुपर्छ । मनोविद्, मनोचिकित्सक अथवा अरु मनोसामाजिक कार्यकर्ताहरुसँग बसेर समस्यालाई कसरी हल गर्ने भनेर बुझ्नुपर्छ ।

कोही पनि बालबालिका आत्महत्याको अवस्था अथवा आत्महत्याको प्रयाससम्म नपुगोस् भनेर अभिभावकले कस्तो कुरामा सचेत हुनुपर्छ ?
धेरै तनाव हुने अवस्था सिर्जना गर्नुहुँदैन । घरमा, स्कुलमा अथवा अरु कहीँ तनाव छ भने त्यसलाई न्यूनीकरण गर्नुपर्छ । अभिभावकले बालबालिकासँग डिप्रेसन, मानसिक रोग, स्कुल आदिका बारेमा स्पष्ट रुपमा कुरा गर्नुपर्छ । यो त सबैलाई हुन सक्ने कुरा हो तर यदि तिमीलाई कहिलेकाहीँ उदासीपन भयो अथवा मर्ने विचारहरु आउँछन भने त्यो सामान्य अवस्था होइन भनी सम्झाउनुपर्छ । त्यस्तो भएमा मद्धत माग्नुपर्छ भनेर बालबालिकालाई सिकाउनु पर्छ । साथीभाई कसैले त्यस्तो कुरा गरेमा पनि उसलाइ मद्धत गर्नुपर्छ भनेर सिकाउनुपर्छ । शिक्षकहरुले पनि स्कुलमा सबै बालबलिकाहरु सँगै राखेर मानसिक समस्याको बारेमा कुरा गर्नुपर्छ । मुख्य उपाय भनेको सचेतना नै हो ।

बालबालिकाको हुर्काइमा सकारात्मक प्रभाव पार्न अभिभावकले के गर्नुपर्छ ?
बालबालिकालाई कसरी हुर्काउने भन्ने कुरा सबैको एउटै विधि नहोला तर साधारण बुझ्नु पर्ने कुरा दुईचार वटा कुरा छन् । एउटा भनेको सबै बच्चाको वातावरण अनुमान गर्न सकिने हुनुपर्छ । भनेको उसलाई के, कसरी, कुन बेला हुन्छ भन्ने कुरा थाहा हुनुपर्छ । यो बेला टिभी हेर्ने, यो बेला पढ्ने, यो खाना खानुहुन्छ, यो खाना खानुहुँदैन भनेर उसलाई थाहा हुनुपर्छ । उसलाई राम्रो काम गर्दा कसरी इनाम दिने र काम बिगारेमा कसरी सजाय दिने भन्ने कुरा पनि थाहा हुनुपर्छ । यदि भन्दा भन्दै पनि राम्रो काम गदैन भने बल्ल सजाय दिनुपर्छ तर सजाय भनेको पिट्ने, दुख दिने हैन । सजाय भनेको उसलाई रमाईलो हुने कुरा निकालिदिने । जस्तैः होमवर्क नगरेमा टिभी हेर्न नपाउने । बुवाआमाको छोराछोरीमा नियन्त्रण हुनु पर्छ तर जबरजस्ती नियन्त्रण गर्ने हैन । आफुले बोलेको कुरा लागू गरेर देखाउनु सक्नुपर्छ । बाबुआमाले भनेपछि मैले गर्नैपर्छ भनेर उसले बुझ्नुपर्छ । होमवर्क नगर्दा टिभी हेर्न नपाउने भनेपछि टिभी हेर्न दिनै भएन । अनि बल्ल उसले मैले के गर्दा कस्तो हुन्छ भनेर बुझ्छ । र अर्को कुरा भनेको उसलाई तनावको अवस्था सिर्जना गरिदिनु भएन । कुनै काम बिगा¥यो भने सिधै सजाय दिनुभन्दा पनि अर्को पटकबाट कसरी राम्रो काम गर्ने भनेर सिकाउनु पर्छ । यी त सामान्य कुरा भए । सबैको आफ्नै पारिवारिक संस्कृति हुन्छ , इतिहास हुन्छ । आफ्नो जातभात अनुसार हुर्काउने शैली हुन्छ । सामाजिक व्यवहार हुन्छ । सरलता हुन्छ । मुख्य कुरा उसलाई तनाव हुनु भएन । यदि कोही बच्चाले गर्न सकेन भने सिधै गएर सजाय दिने हैन । बरु उसले किन गर्न सकेन भनेर बुझ्नु पर्छ । यति कुरा याद गर्नुभयो भने उसको जिन्दगीमा तनाव आउँदैन र मानसिक समस्या र आत्महत्याको सम्भावना पनि कम हुन्छ ।

कान्ति बाल अस्पताललाई बालबालिकाको सम्पुर्ण समस्या सम्बोधन गर्ने अस्पतालको रुपमा लिइन्छ । यस अस्पतालले मानसिक स्वास्थ्यलाई केन्द्रित गरेर केही खास काम गरेको छ ?
हामीले अहिले कान्ति बाल अस्पतालमा सरकारी छुट्टी बाहेक हरेक दिन बिहान १० बजे देखि दिउँसो २ बजे सम्म बाल मानसिक क्लिनिक सञ्चालन गरिरहेका छौ । यदि कसैले कोही पनि बच्चामा मानसिक समस्या भएको देख्नु भयो भने यहाँ हामीलाई रिफर गर्न सक्नुहुन्छ । हामीले सकेसम्म मद्धत पु¥याउन कोशिस गर्नेछौँ ।

त्यसका लागि कहाँ सम्पर्क राख्ने ?
यस क्लिनिकमा एउटा हेल्पलाईन पनि छ । ९८०८५२२४१०, यस नम्बरमा फोन गर्नुभयो भने बिहान १० बजे देखि दिउँसो १२ बजे सम्म हामीले फोनबाट पनि केही सुझावहरु दिन सक्छौँ ।

 

(रेडियो कार्यक्रम बाँचे संसार जितिन्छ हरेक मंगलबार साँझ ७ बजे रेडियो मेलम्ची १०७.२, रेडियो सिन्धु १०५ र रेडियो हेलम्बु ८९.६ मेगाहर्जमा सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ ।)

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us