तनाव र यसको व्यवस्थापन

जमुना महर्जन श्रेष्ठ
क्लिनिकल म्यानेजर
टिपिओ नेपाल

जब कुनै व्यक्ति चिन्तित वा तनावमा हुन्छ वा कुनै विषयमा विचार मग्न हुन्छ त्यसबेला उसका मांसपेशीहरु खुम्चिन्छन् तथा साह्रो बन्छन् । हाम्रो शरीर र मांसपेशीहरु हामीले अनुभव गरे भन्दा निकै सक्रिय हुन्छन् । त्यसैले हामीले हुन्छ कि हुँदैन ?, ठिक कि बेठिक ?, हो कि होइन ?, जस्ता विचार वा मनमा आउने भावले तनावग्रत बनाउँछ । के यो नराम्रो हो त ? हो पनि र होइन पनि । यस्ता भावहरु नकारात्मक नभइ सकारात्मक पनि हुन्छन् । जस्तैः कोरोना । याे अस्वभाविक वा असामान्य अवस्थाको स्वभाविक वा सामान्य प्रतिक्रिया हाे । डराउनु एक उत्तेजित सतर्कता हो । यो उपयोगी हुन्छ । यसले मानिसलाई चनाखो बनाउँछ र शिघ्र कार्य गर्न तयार पार्दछ । जब व्यक्ति डराउँछ उसका मांसपेशीहरु कडा बन्छन् । यस्तो बेला भाग्न वा त्यस विरुद्ध जुझ्नलाई व्यक्ति तयार हुन्छ । उदाहरणको लागि मानौं बाघ कराएको आवाज नजिकै सुनियो वा बाघ आक्रामण गर्न तपाईं बसेको ठाउँ नेर आइपुग्यो । यस्तो बेला व्यक्ति डराउँछ । शरीर कडा हुन्छ र त्यसको सहायतामा त्यहाँबाट उम्कन मद्दत पुग्छ । कहिलेकाहीँ डरलाग्दो अवस्था समाप्त भइसक्दा पनि व्यक्तिको मनमा डर रहिरहन्छ ।

कोही मानिसहरु सानातिना समस्यालाई लिएर चिन्तित हुन्छन् । कोही कोही मानिसहरु जीवनमा सधैँ आफूले राम्रो काम गर्ने प्रयत्न गर्दा गर्दै पनि आफूले गरेको काम राम्रो होइन कि भनेर चिन्तित हुन्छन् । चिन्ता लिनु नपर्ने कुरामा पनि कहिलेकाहीँ चिन्ता लिइरहन्छन् । यसले अनावश्यक चिन्ता तथा डर उत्पन्न गर्छ । जसले गर्दा शरीरमा तनाव उत्पन्न हुन जान्छ । पछि गएर यसले शरीरको विभिन्न प्रणालीहरु र मनस्थिति समेतमा हानी पुर्याउँदछ ।

चिन्ता वा डरका कारण जब शरीरको मांसपेशीहरु लामो समयसम्म खुम्चिएर साह्रो बन्दछन् त्यसबाट शरीरका विभिन्न भागहरुमा दुखाइका लक्षणहरु देखा पर्ने वा महसुस हुन थाल्दछन् । यसले अर्को चिन्ता वा तनाव थप्दछ । तनावग्रत मानिसहरु आफूलाई शारीरिक र मानसिक रुपमा ठिक भएको अनुभव गर्दैनन् र हरहमेशा थकान वा शरीर गलेको महसुस गरिरहेका हुन्छन् । शारीरिक स्वास्थ्यको जाँच गर्दा पनि खासै शारीरिक समस्या भएको देखाउँदैन तर निरन्तर दुखाइ भने महसुस भइरहने भएकोले यसलाई शारीरिक शिकायत पनि भन्ने गरिन्छ । यस्ता मानिसहरू कठिनसँग जीवनयापन गरिरहेका हुन्छन् । केटाकेटीहरुसँग खेल्दा, अरुसँग कुराकानी गर्दा वा दैनिक कामकाजमा पनि आनन्दकाे महसुस गर्न सक्दैनन् । यी लक्षणहरुले चिन्ता तथा डर अरु बढाउँछ र मांसपेशीहरु अरु थप कडा बन्दछन् । यसरी मानिसहरु डर र चिन्ताका कारण – मांसपेशीहरु खुम्चिएर कडा हुनपुगी – शारीरिक पीडाको चक्रव्युहमा फस्न पुग्दछन् ।

तनावको व्यवस्थापन
तनावलाई कम गर्न सकेमा शारीरिक दुखाइ पनि घट्दछ र समस्याको सामना सजिलै गर्न सकिन्छ । तनाव व्यवस्थापन पछि मानिसहरू शान्त तथा फूर्तिलो महसुस गर्दछन् र चिन्ताको सामना सजिलै गर्न सक्दछन् । यस्तो अवस्थामा समस्याको समाधान गर्ने क्षमता बढेर जान्छ । सकारात्मक सोचको विकास भइ, शरीरमा उर्जा प्राप्त हुन पुग्दछ र थप आशावादी हुने, खुशीको अनुभव गर्दै साँच्चै नै मन शान्त र आनन्द हुने, शरीर पनि हल्का र फुर्तिलो भइ निरोगको आभास हुन थाल्दछ । यस्तो महसुस हुन वा गर्नको लागि निम्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।

१) आफ्नो घर तथा समाजमा उत्पादित समयानुसारका पौष्टिक आहारलाई उचित तरिकाले मिलाएर सन्तुलित भाेजन खाने । (बजारमा मात्र पोष्टिक आहार पाइन्छ भनेर हिँड्नु कस्तुरिले विणा खोजे जस्तो मात्र हो ।)
२) नियमित व्यायाम, योग तथा ध्यान गर्ने
३) आराम गर्ने र रमाइलो वातावरण सिर्जना गरेर बस्ने
४) मन मिल्ने वा विश्वासिलो व्यक्तिसँग कुराकानी आदानप्रदान गर्ने ।
५) आफ्नो तथा परिवारका सदस्यहरुको कमजोरी तथा नकारात्मक कुरा कहिल्यै पनि अन्य व्यक्तिसँग नगर्ने । गर्नै परेमा तपाईंका कुरा र समस्या समाधानमा सहयोग गर्ने व्यक्तिसँग मात्र गर्ने । जसले गोपनियता कायम गर्दछ ।
६) आफ्नो तथा परिवारका सदस्यहरुको प्रशंसा र राम्रा पक्षहरुको बारेमा सधैं अरुसँग चर्चा गर्ने र खुशी हुने ।
७) आफूलाई कमजोर छु भन्ने कहिल्यै पनि नसोच्ने ।

यी बाहेक थुप्रै अरु चीजहरु जसले आफ्नाे मन र शरीरलाई आनन्द दिन्छ त्यस्ता गतिविधि र क्रियाकलापहरुलाई दैनिक कामकाजी जस्तै गरी जीवनको एउटा पाटो हो भन्ने सम्झेर निरन्तता दिनु जरुरी हुन्छ । तनाव हरेकको जीवनमा जन्म देखि मृत्यु नहुन्जेल आउँछ, जान्छ । यसलाई होशका साथ अपनाइ सही र गलत छुट्याउँदै समस्या एवम् तनावलाई सकारात्मक तरिकाबाट सामना गर्दै अगािड बढेको खण्डमा जीवन जिउन सजिलो मात्र हुँदैन, जीवनले आनन्द र सार्थकता पनि पाउँछ ।

Reference:

  • TPO Nepal Training Materials
  • Transforming the pain – A workbook on Vicarious Traumatization – Karen W. Saakvitne & Laurie Anne Pearlman
  • Shake if off naturally: Reduce stress, Anxiety & Tension with (TRE) – David Berceli PhD.
  • Walking the Tiger Healing Trauma – Peter A. Levine
Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4431717/4437124/4424082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day Form 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us