टि.आर.ई (तनाव कम गर्ने अभ्यास) TRE (Tension, Stress, Trauma Releasing Exercise)

                                                                               -जमुना महर्जन श्रेष्ठ

          प्रमाणित टि.आर.ई सेवा प्रदायक

         टि.आर.ई प्रशिक्षार्थी प्रशिक्षक

          टि.पि.ओ नेपाल

नेपालमा मानसिक तथा मनोसामाजिक समस्याबाट प्रभावित व्यक्तिहरुको यकिन तथ्याङ्क नभएता पनि केही सीमित स्थान तथा समूहमा गरिएको अनुसन्धानले जनसंख्याको २५% भन्दा बढी व्यक्तिहरुमा कुनै न कुनै खालको मानसिक तथा मनोसामाजिक समस्या भएको देखाएको छ (लुईटेल २०१३) । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पनि आर्थिक वर्ष ०७२/७३ मा विभिन्न कारणले ४ हजार ७ सय ५ जनाले आत्महत्या गरेका थिए । आ.व. ०७४/७५ मा यो संख्या ५ हजार ३ सय ४६ पुगेको छ । पछिल्लो २५ वर्षको तथ्यांक केलाउँदा आत्महत्याको आंकडा अझ डरलाग्दो देखिन्छ । सन् ९० को दशकको तुलनामा अहिले आत्महत्याको दर ६० प्रतिशतले वृद्धि भएको छ ।

प्राकृतिक प्रकोप होस् वा मानव सिर्जित प्रकोप, त्यसले व्यक्तिलाई छोटो समय देखि लामो समय सम्म मनोवैज्ञानिक असर पुर्याइरहेको हुन्छ । जसको प्रत्यक्ष असरको रुपमा तनावलाई लिन सकिन्छ । तनावले मानिसको सामान्य अवस्थामा पनि समस्याको सामना गर्ने संयन्त्रमा बाधा पुर्याउँदछ । तनाव आफैँमा नराम्रो होइन तर तनावलाई समयमै राम्रोसँग व्यवस्थापन गर्न नसकेमा यसले शारीरिक तथा मानसिक रुपमा नराम्रो असर पुर्याइरहेको हुन्छ । जसको परिणाम स्वरुप शारीरिक रुपमा कब्जियत हुने, टाउको दुख्ने, पेट पोल्ने, छटपटी हुने, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वासमा समस्या र मानसिक रुपमा उदासीनता, निराशा, चिडचिडाहट हुँदै चिन्ता, डिप्रेसन जस्ता रोग लाग्ने र त्यसको समयमा नै उपचार नहुँदा आत्महत्याको क्रम बढ्ने अवस्थामा रहेको छ ।

जुनसुकै कारणबाट भए पनि आघातले डरलाग्दो मानसिक रोग निम्त्याउन सक्दछ । जसले व्यक्तिलाई अत्यधिक डर, तनाव, तीव्र चिन्ता, असहायपन, नैराश्यता र आफूलाई अति योग्यहीनको अनुभूति दिलाउँछ र उसको तनावसँग सामना गर्ने व्यवहारलाई तहसनहस गर्दछ । आघातजन्य घटनाले व्यक्तिको सम्पूर्ण व्यक्तित्व, उसको मानसम्मान, स्वायत्तता र सुरक्षित भावनालाई विध्वंस गर्दछ । त्यसैले तनावलाई कम गर्न र त्यस्तो अवस्थाबाट बच्नको लागी टि.आर.ई लाई एउटा उत्तम उपायको रुपमा लिन सकिन्छ । टि.आर.ई आघात कम गर्ने थेरापी होइन तर पनि व्यक्तिले तनावपूर्ण अवस्थामा हुँदा यसको विधिसंगत तरिकाले प्रयोग गरेमा पर्याप्त फाइदा लिन सक्छ ।

नेपालमा टि.आर.ई (तनाव कम गर्ने अभ्यास) वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि मात्र भित्रिएको हो । डा. डेविड बर्सेलीद्वारा विकास गरिएको टि.आर.ई स्नायु प्रणाली र शरीरसँग सम्बन्धित छ । यसमा छ प्रकारका विशेष व्यायाम छन् जसले शरीरको माशंपेशीहरुमा जम्मा भइरहेको तनावलाई हटाउन सहयोग गर्दछ । युद्ध, पारिवारिक कलह, प्राकृतिक प्रकोप तथा अरु विभिन्न कारणबाट मानिसमा पर्ने आघात र त्यसबाट उत्पन्न हुने तनावबाट छुटकारा दिलाउन टि.आर.ई ले मद्दत गर्दछ । व्यायाम र माशंपेसीय कम्पनबाट सुखद र आरामदायी महसुस गराउन यो विधि अत्यन्त सुरक्षित र उपयोगी रहेको छ ।

तनाव कम गर्ने अभ्यास (टि.आर.ई) तालिम प्राप्त सहजकर्ताले एकैपटक समुदायका धेरै जनालाई सेवा दिन सकिने सरल विधि हो । व्यक्तिगत वा समुहगत रुपमा टि.आर.ई सहजकर्ताबाट सीप सिकिसकेपछि समस्यारत व्यक्ति आफैँले पनि मानसिक तथा शारीरिक तनावबाट मुक्त हुन यो अभ्यास सहज तरिकाले गर्न सकिन्छ । आफ्नो शरीर र मनभित्र के भइरहेको छ भनेर स्वयं महसुस गरेर सहज रुपमा व्यायाम गरी उक्त तनाव शरीर र मनबाट बाहिर निकाल्न यो व्यायामले मद्दत गर्दछ ।

यसमा शरीर विज्ञान, स्वः हेरचाह, स्वः उपचार, व्यक्ति तथा समुदायको सशक्तिकरण र साँस्कृतिक संवेदनशीलता आत्मसात गरी जुनसुकै उमेर समुहका महिला, पुरुष, बालबालिका लगायतलाई समावेश गरी सामुहिक रुपमा वा बेग्लाबेग्लै समुहहरुमा अभ्यास गर्न सकिन्छ । टि.आर.ई मा शरीरको कम्पनलाई विशेष ध्यान दिइन्छ । शरीरमा कम्पन आउने प्रक्रिया हाम्रो लागि नयाँ होइन । यसको अनुभव हामी सबैले कुनै न कुनै बेला गर्दै आइरहेका छौँ । हाम्रो सामाजिक मान्यता अनुसार शरीरमा कम्पन हुनु भनेको डराएर हो भन्ने बुझाइ रहेको छ । छारे रोग, पार्किन्सन जस्ता रोगहरुको कम्पन बाहेक अरु कम्पन डर, चिन्ता, दुख, शंका, प्रतिरोध, रिस, इन्कार आदिको संवेग कम गराउन स्वतस्फूर्त रुपमा शरीरको कुनै न कुनै भागले पैदा गरिरहेको हुन्छ । वास्तवमा मन र शरीरको समन्वयमा कुनै अप्ठ्यारो पर्ने बित्तिकै शरीरले हामीलाई प्राय दुखाइबाट संकेत वा सुचना दिएको हुन्छ । हामीले त्यसलाई थाहा पाउन, सुन्न र चिन्न सक्नु पर्दछ । मन, मष्तिष्क/स्नायु प्रणालीले शरीरलाई सन्तुलित बनाइराख्न यी संवेगहरुलाई दबाएर राखेको हुन्छ । जसले गर्दा हाम्रो शरीरले त्यति वास्ता गरिरहेको हुँदैन र समय अन्तरालमा विभिन्न प्रकारका रोगका लक्षणहरु देखा परेपछि मात्र थाहा पाउँछौं । यसरी शारीरिक अवस्थामा समस्या देखेर मात्र थाहा पाउने अवस्था आउनु भन्दा अगाडि नै गरिने टि.आर.ई एक स्वःहेरचाह विधिका रुपमा विकास भएको हो । जुन एक पटक सिकेपछि स्वयं व्यक्तिले पनि निरन्तर प्रयोग गर्न सक्छ । यस विधिको प्रयोगले जीवनमा निरन्तर स्वस्थ रहन सहयोग मिल्दछ ।

एक पटक शरीरको मांसपेशीहरुलाई सक्रिय गराएर आरामको प्रतिक्रिया पुनःस्थापित भएको अवस्थामा व्यक्तिले विभिन्न फाइदाहरु महसुस गर्न सक्दछन् । एक दुई पटकको सत्र पछि नै शरीर हल्का भएको, आनन्द र गहिरो निद्रा परेको महसुस गर्छन् । यसरी नै निरन्तर अभ्यास गर्ने हो भने वर्तमानमा रहन र रमाउन सक्ने, तनावपूर्ण अवस्थामा पनि होसमा रहन सक्ने र उर्जाका साथ सबैसँग राम्रो सम्बन्ध राख्न सक्ने क्षमता अभिवृद्धि हुन्छ । तनावसँग सम्बन्धित शारीरिक दुखाइबाट राहत भइ पुराना चोटहरु पनि निको भएको महसुस हुन्छ । शरीरमा अधिक उर्जा मिल्नुका साथै घरायसी र व्यवसायिक जीवनको लागि उर्जा प्राप्त भइ निर्णय गर्न सक्ने क्षमता अभिवृद्धि हुन्छ ।

भूकम्प, बाढी, पहिरो, आँधीहुरी, आगलागी, पारिवारिक विचलन आदिको अवस्थामा मनोचिकित्सक, मनोवैज्ञानिक, मनोविमर्शकर्ता आदि सहयोग अपर्याप्त हुन सक्दछ । एक अध्ययनका अनुसार नेपालमा ९०% भन्दा बढी मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरु उपचारबाट वञ्चित छन् (लुईटेल २०१६) । तसर्थ टि.आर.ई को ज्ञान र यसको प्रयोग बारेमा जानेको सहजकर्ताबाट समस्यारत समुदायमा सजिलै र छिट्टै धेरै व्यक्तिहरुलाई एकैचोटी यो सेवा उपलब्ध गराउन सकिनेछ जुन हाम्रो जस्तो मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा प्रदायक कम भएको देशमा अति आवश्यक छ ।

आधिकारिक रुपमा तालिम प्राप्त टि.आर.ई सेवा प्रदायकहरुको सहयोगमा स–साना समुहहरुमा यो अभ्यास गर्न सकिन्छ । प्रमाणित टि.आर.ई सेवा प्रदायकको सहयोगबाट व्यक्तिले शरीरबाट तनाव बाहिर निकाल्नको लागि मौखिक रुपमा आफ्नो पीडा वर्णन गरिरहनु आवश्यकता हुँदैन । जसलाई व्यायामको प्रक्रियाबाट मांसपेशीहरुलाई सक्रिय बनाइ शरीर र स्नायु प्रणालीको प्राकृतिक र आन्तरिक प्रतिक्रियाले शरीरका विभिन्न मांसपेशीहरुमा जम्मा भएका तथा नयाँ तनावलाई कम गर्न र बाहिर निकाल्नको लागि मद्दत मिल्दछ ।

सामान्य शारीरिक अभ्यासबाट हामी तनाव मुक्त हुन सक्दछौँ

 

References:

Dr. David Berceli, TRE Founder – TRE (Tension, Stress, Trauma Releasing Exercise)

Kantipur Publication, 2076 Baisakh, 4

The Diagnostic and Statistical Manual of Mental Disorders, 4th edition, text revision (DSM-IV-TR; American Psychiatric Association (APA), 2000

Kohrt, B. A., Hruschka, D. J., Worthman, C. M., Kunz, R. D., Baldwin, J. L., Upadhaya, N., Nepal, M. K. (2012). Political violence and mental health in Nepal: prospective study. British Journal of Psychiatry, 201(4), 268-275. doi:10.1192/bjp.bp.111.096222

Luitel, N. P., Baron, E. C., Kohrt, B. A., Komproe, I. H., & Jordans, M. J. D. (2018). Prevalence and correlates of depression and alcohol use disorder among adults attending primary health care services in Nepal: a cross sectional study. BMC Health Serv Res, 18(1), 215. doi:10.1186/s12913-018-3034-9

Luitel, N. P., Jordans, M. J., Sapkota, R. P., Tol, W. A., Kohrt, B. A., Thapa, S. B., . . . Sharma, B. (2013). Conflict and mental health: a cross-sectional epidemiological study in Nepal. Soc Psychiatry Psychiatr Epidemiol, 48(2), 183-193. doi:10.1007/s00127-012-0539-0

Risal, A., Manandhar, K., Linde, M., Steiner, T. J., & Holen, A. (2016). Anxiety and depression in Nepal: prevalence, comorbidity and associations. BMC Psychiatry, 16, 102. doi:10.1186/s12888-016-0810-0

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4431717/4437124/4424082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day Form 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us