कोभिड-त्रासले बढ्दै मनोसामाजिक समस्या

कान्तिपुर

काठमाडौँ — विश्व्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासले मानिसमा मनोसामाजिक समस्या बढ्दै गइरहेको विज्ञले बताएका छन्।

लकडाउनका कारण होम क्वारेन्टाइनमा बसेका र संक्रमणको आशंकामा अस्पताल या सामुदायिक क्वारेन्टाइनमा रहेकालाई यस्ता समस्याले गाँज्दै लगेको उनीहरूको निष्कर्ष छ।

मनोचिकित्सक डा. कमल गौतमका अनुसार कोभिड १९ संक्रमणको त्रासले मानिसमा जतिखेरै डरचिन्ता लाग्ने, भोकनिद्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने, बेचैनी र उदासीनता जस्ता मनोसामाजिक समस्या भइरहेको छ। ‘यस्ता समस्यालाई रोगै भन्न सकिँदैन,’ उनले भने, ‘समस्या बढ्दै गए यसले भोलि डिप्रेसनलगायत गम्भीरखाले मानसिक रोगी बनाउँछ।’ कोभिड १९ को डरत्रासले मानसिक रोगका पुराना बिरामीको समस्या बल्झाउनुको साथै नयाँ बिरामी थपिरहेको उनले बताए।

कोभिड नयाँ रोग भएकाले नेपालमा अहिले यसको मानसिक पाटोबारे कुनै अध्ययन भइसकेको छैन। तर, मनोचिकित्सकले बिरामी हेरेको आधारमा यसले मानसिक रोगका नयाँ बिरामी थपिने देखिन्छ। जसरी १० वर्षे सशस्त्र युद्ध, भूकम्प र नाकाबन्दीपछि यस्ता रोगी थपिएका थिए।

बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) ले नेपालमा लकडाउन भएपछि १ हजार ५ सय जनामा सोसल मिडिया सर्वेक्षण (२०२०) गर्दा २० प्रतिशतमा बेचैनी, २४ प्रतिशतमा डर र २४ प्रतिशतले उदासीनता देखिएको छ। अध्ययनमा सामेल विद्यार्थी, व्यापारी, स्वास्थ्यकर्मी, जागिरे, कृषक र मजदुरमध्ये विद्यार्थी र व्यापारी सबैभन्दा बढी (४७ प्रतिशत) मनोसामाजिक समस्याबाट ग्रसित भएको प्रतिवेदनमा उल्लेख छ।

टीपीओ नेपालकै हटलाइनमा पनि दिनहुँ कोभिड त्रासका कारण मनोसामाजिक समस्या लिएर फोन आउँछन्। फोन गर्ने अधिकांशले डर लाग्ने, निद्रा नलाग्ने, हातखुट्टा झमझमाउने समस्या बताउने गरेको डा. गौतमले सुनाए। ‘हामीले १५ दिनमा १ सय ८४ वटा कल प्राप्त गर्‍यौं,’ उनले भने, ‘मजदुर, आयआर्जन कम भएका व्यक्ति र गर्भवती महिला बढी मानसिक समस्यामा छन्।’

टीपीओ नेपालले कोभिडका बिरामी भर्ना हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकमा पनि मनोपरामर्श सेवा दिएको थियो। अस्पतालको आइसोलेसनमा बस्ने संक्रमितमा पनि यस्ता मनोसामाजिक समस्या देखिएमा थिए।

अध्ययनमा संलग्न डा. गौतमका अनुसार अहिले देखिएका समस्या मानसिक रोगका सामान्य लक्षण मात्रै भएकाले मनोविमर्श, परामर्श या घरमै गर्न सकिने योगाले ठिक हुन सकिन्छ। घरेलु र प्राथमिक उपचार नपाए भोलि समस्या बढेर मानिस दैनिक क्रियाकलाप गर्न नसक्ने गम्भीर मानसिक रोगी बन्न सक्छन्। जसलाई औषधि र उपचारले मात्रै निको बनाउन सक्छ। रोगको डरभन्दा पनि सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र गलत समाचारलाई सत्य मान्दा उनीहरूमा आत्तिने समस्या देखिएको डा. गौतमले बताए।

मानसिक रोग उपचार गर्ने देशको केन्द्रीय अस्पताल पाटनस्थित मानसिक अस्पतालमा लकडाउनअघि दैनिक डेढ सय बिरामी आउँथे। अहिले उनीहरु अस्पताल पुग्न सकेका छैनन्। दैनिक पुग्नेको संख्या ३० को हाराहारीमात्रै छ। आउन नसक्ने बिरामीका लागि फोनबाटै परामर्श गरेर सेवा दिइरहेको अस्पतालले जनाएको छ।

अस्पतालका मनोचिकित्सक डा. वासुदेव कार्की सामान्य मानसिक समस्या भएर अस्पताल पुग्न नसकेका बिरामीमा परामर्शको अभावमा कडाखाले मानसिक रोगीमा परिणत हुने जोखिम बढेको बताउँछन्। कोभिडको त्रासले साइकोसिसजस्ता कडा खाले मानसिक रोग निको भइसकेका बिरामीको रोग बल्झिन थालेको उनले बताए। ‘वैदेशिक रोजगारी, द्वन्द्व र भूकम्पले मानसिक रोगी बढाएको थियो,’ उनले भने, ‘कोभिडले यस्ता बिरामी थप्ने संकेत देखाइसकेको छ।’ उनका अनुसार रोगको त्रासका साथै लकडाउनले गर्दा व्यावहारिक समस्या आइपर्दा मानिसमा चिडचिडाहट, क्रोध र दिग्दारी देखिएको छ। जसले भोलि उनीहरूलाई मानसिक रोगी नै बनाउन सक्ने सम्भावना छ।

सरकारले सबै तहका व्यक्तिमा पुग्नेगरी कोभिडबारे सही सूचना प्रवाह गरेर यस्ता समस्या न्यूनीकरणमा पहल गर्नुपर्ने डा. गौतमले बताए।

भ्रमले त समस्या बढाएको छ नै लकडाउनका कारण मानसिक रोगका बिरामी नियमित फलोअपमा अस्पताल जान पाएका छैनन्। दुर्गमका बिरामीले औषधि पाएका किनेर खान पाएका छैनन्। ‘मानसिक रोगका १२ थरी औषधि नेपाल सरकारले नि:शुल्क दिने गरेको छ, त्यस्ता औषधि दुर्गमका स्वास्थ्यचौकीसम्म पुर्‍याउनुपर्छ,’ डा. गौतमले भने, ‘यसो गरे बिरामीको औषधि छुट्दैन, भोलिको समस्या रोक्न सक्छ।’ अहिले देखिएका मनोसामाजिक समस्या न्यूनीकरणका लागि भने जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम दिन सकिने उनी बताउँछन्।

कोभिड संक्रमित र मृत्युबारे मात्रै प्रकाशित हुने समाचारले दिमाग खलबलिएर मनोसामाजिक समस्या निम्तिएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल बताउँछन्। सरकारले अहिले कोभिडलाई मात्रै प्राथमिकता राखेर काम गर्दा मानसिक रोगी ओझेलमा परेको उनको भनाइ छ। ‘यो रोगले गम्भीर हुने ५ प्रतिशत व्यक्तिमात्रै हुन्, ९५ प्रतिशत त निको नै हुन्छन्,’ उनले भने, ‘त्यस्ता सकारात्मक समाचार र सूचना प्रवाह भइदिने हो भने मान्छे रोग लागेर मर्छु भन्दै आत्तिँदैन, मानसिक रोगी हुनबाट जोगिन्छ।’ यस्तो समस्या भोग्नेमा अशिक्षितदेखि पढेलेखेका र कतिपय स्वास्थ्यकर्मी नै पीडित भइरहेको उनले बताए।प्रकाशित : वैशाख ८, २०७७ १९:०६

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4431717/4437124/4424082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day Form 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us