आत्महत्या न्यूनीकरणमा संचारको भुमिका : अतुल मिश्र

(यस अन्तर्वार्ता बाँचे संसार जितिन्छ ˗ भाग ४ बाट साभार गरिएको हो । बाँचे संसार जितिन्छ अष्ट्रेलियन एडको आर्थिक सहयोग र निहारिका प्रोडक्सनको प्राविधिक सहयोगमा टि.पि.ओ. नेपालद्वारा प्रस्तुत गरिएको आत्महत्या सम्बन्धि रेडियो कार्यक्रम हो । यस भागमा मिलन गहतराजले कान्तिपुर दैनिकका प्रमुख उपसम्पादक तथा स्वास्थ्य क्षेत्रका पत्रकार अतुल मिश्रसँग आत्महत्या न्यूनीकरणमा संचारले कस्तो भुमिका खेलिरहेको छ भनेर सोध्नु भएको थियो ।)

 

आत्महत्यासँग सम्बन्धित प्राय समाचारहरुलाई पाठक, दर्शक वा श्रोता बढाउनका लागि निकै सनसनीपूर्ण बनाउने गरिन्छ । यस्तो अवस्थामा आत्महत्या न्यूनीकरणमा संचारले कस्तो भुमिका खेलिरहेको छ ?

आत्महत्याको रोकथाम, उपचार तथा परामर्शको क्षेत्रमा संचारको निकै ठूलो भूमिका रहने गर्दछ । मिडियाले अहिले आत्महत्याको समाचार बनाउँदा head count मात्र गरिरहेको छ । अर्थात् कति जना मरे, कसरी मरे भन्ने विषयमा मात्र लेखिरहेको छ । तर मिडियाको दायित्व भनेको ती समाचारहरुको गहिराईमा गएर थप घटना हुनबाट कसरी जोगाउन सकिन्थ्यो भनेर सचेत गराउनु हो । आत्महत्याको समाचार बनाउँदा को बिते, कसरी बिते अथवा ठूला व्यक्तिले आत्महत्या गरे भन्नु भन्दा पनि आत्महत्या गर्नुका कारणहरु र जोगाउन के के गर्न सकिन्थ्यो भनेर लेखिदिनुपर्छ । यसले गर्दा त्यस्तै प्रकारका लक्षण भएका व्यक्तिहरुले आफ्नो समस्यासँग उक्त समाचार मिलेको अनुभव गरेर त्यहाँ भनिए जस्तै समाधान खोज्न सक्दछन् । उचित निकाय सम्म पुग्न सकेमा त्यस व्यक्ति आत्महत्या गर्न बाट जोगिन सक्छ । आत्महत्याबाट बच्ने उपायहरु र यसबाट बाँच्न सम्भव छ भनेर समाचारमा राखिनुपर्छ ।

नेपाली मिडियाको विश्लेषण गर्दा यी कुराहरु देख्न सकिन्छ ?

नेपाली मिडियाहरुलाई हेर्दा उनीहरु बिक्रीको लागि अथवा आफ्नो समाचार बिकाउन मात्र प्रयास गरिरहेको जस्तो लाग्छ । हाम्रो सामाजिक दायित्व पनि छ, तर त्यता तर्फ हामी जान सकेका छैनौँ कि जस्तो लागिरहेको छ । अझ स्वास्थ्य पत्रकारितामा त हाम्रो प्रमुख दायित्व भनेको शिक्षा दिनु हो । यही एउटा पत्रकारिता हो जसमा यसो गर्नुहोस भनेर जानकारी दिइन्छ । अरु पत्रकारिताहरुमा घटनाको विवरण मात्र दिइन्छ । स्वास्थ्य पत्रकारिता भनेकै एउटा सिकाउने प्रक्रिया हो, जसमा दुबै तर्फ सूचना आदान प्रदान हुन्छ ।  हामीले सूचना दिएपछि पाठकबाट सुझाव पनि आउँछ । त्यसैले हामीले आफैँबाट यसको सुरुवात गर्नुपर्दछ । विशेषज्ञहरुसँग पनि सल्लाह लिन सकिन्छ ।

यस विषयमा मिडियाकर्मीहरुमा सचेतनाको अभाव भएको मान्नुहुन्छ ?

एउटा हालैको घटनामा संगीतसँग सम्बन्धित मान्छेको आत्महत्याले निधन भएको सबैलाई थाहै छ । त्यस घटनामा रेडियो देखि सबैतिर हेर्ने हो भने सबैले विभिन्न दृष्टिकोणबाट लेख्नुभयो तर कथा, व्यथा मात्रै । अर्थात नेपाली पाठक, श्रोता, दर्शकलाई घटना कसरी भयो, किन भयो र आत्महत्या कसरी गरियो भन्ने कुराले मात्र जोड्ने प्रयास भयो । तर आत्महत्या गर्नुको मुख्य कारण के थियो, कसरी जोगिन सकिन्थ्यो र उक्त कारणलाई हटाउन के गर्न सकिन्थ्यो भनेर कोही केन्द्रित भएनन् । शुन्य प्राय नै थियो, यसमा हामी चुकेको नै हौँ । किनभने हाम्रो मिडियामा राजनीतिक रिपोर्टिङ बढी छ । स्वास्थ्यसँग, त्यो पनि विशुद्ध मानसिक स्वास्थ्यसँग नै सरोकार राखेर खोजीनिती गर्ने मान्छे त लगभग दुर्लभ नै छन् । यदि प्रयास गर्यो भने त राम्रो हुन सक्छ तर अहिलेसम्म यो कुरालाई यसरी बाहिर ल्याउने व्यक्ति छैनन् ।

एउटा मिडिया हाउस अथवा एउटा पत्रकारको त्यो उत्तरदायित्व बहन किन नभएको होला अथवा के गर्यो भने त्यो कुरा ल्याउन सकिन्छ होला ?

मिडिया भनेको समाजको प्रतिबिम्ब हो । तर अहिलेसम्म हामी त्यति सचेत छैनौँ जति हुनु पर्ने हो । यदि हाम्रो समाजले मिडियाले पस्किएका सामाग्रीहरु नपढिदिने हो भने मिडियाले पनि पस्किन छोड्छ । उसले आफ्नो ट्रयाक परिवर्तन गर्नुपर्छ । समाजले जे माग गर्नु पर्ने हो, जे आवश्यकता छ त्यसलाई पनि उठान गर्न सकिरहेको छैन । अनावश्यक कुरालाई बढी महत्व दिईरहेको छ ।

यदि मिडियाकर्मीको एउटा रिपोर्टले ४ जना नेपालीलाई आत्महत्या गर्न बाट जोगाउन सकियो भने त्यसको मूल्य कति हुन्छ ? अरब, खरब भन्दा ठुलो कुरो त्यही हो । त्यतातर्फ हाम्रो समाज र हामी पनि जिम्मेवार हुनु पर्दछ । र समाजले त्यतातर्फ दिशानिर्देश गर्यो भने मिडिया पनि त्यसैगरी लेख्न बाध्य हुन्छ ।

समाजमा कसैले आत्महत्या गर्ने प्रयास गर्यो अथवा गरिसक्यो भने त्यो सूचना छापा, रेडियो अथवा कुनै न कुनै माध्यमबाट अरुसम्म पुग्छ । उक्त घटनाको विवरण दिँदा यो एउटा मानसिक स्वास्थ्य समस्या मात्रै हो र यसको उपचार गरियो भने निको हुन्छ भन्ने शब्द लेखिदिए अथवा भनिदिए यसले कस्तो भुमिका खेल्छ आत्महत्या न्यूनीकरणका लागि ?

यसले धेरै ठुलो भुमिका खेल्छ । आत्महत्या गर्नु अथवा त्यसबारे सोच्नु एउटा मानसिक रोग हो र यसको उपचार छ । यो हामीले बुझ्नै पर्छ ।

तपाई कान्तिपुर पब्लिकेशनमा हेल्थ बिट हेरिरहनु भएको छ । कान्तिपुर पब्लिकेशनले आत्महत्याको सवाललाई कसरी हेरिरहेको छ ?

अघि भनिएका ठूला संगीतकारले आत्महत्या गर्दा हामीले आत्महत्याको ईस्यु उठाएर यो निको हुन सक्छ है भन्ने सन्देश दियौँ । सब भन्दा पहिले हामीले आत्महत्याको वर्णन गयौँ र त्यसपछि त्यसलाई कसरी रोकथाम गर्न सकिन्थ्यो भनेर पनि ध्यान दियौँ । हामीले निरन्तर मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयास गरिरहेका छौँ र त्यस सम्बन्धि समाचारहरु लेखिरहेका छौँ । यो विषयलाई हामीले उपेक्षा गरेका छैनौँ, निरन्तरता नै दिइरहेका छौँ र भविष्यमा पनि दिइरहने छाँै ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ यस विषयमा ?

म हाम्रो श्रोता र पत्रकार साथीहरुलाई यही भन्न चाहन्छु कि यदि कोही व्यक्तिलाई डिप्रेसन अथवा उदासीनता रोग लागेको छ भने उसमा आत्महत्याको भावना आउन सक्दछ । हरेक व्यक्तिलाई कहिलेकाहीँ आफ्नै जीवन विरक्त लाग्नु स्वभाविक हो । तर त्यो केही क्षण विशेषको मात्र हो, त्यस्ता सोचलाई हटाउन सकिन्छ । तर यदि कोहीमा यस्ता कुराहरु बढी मात्रामा देखियो भने त्यस्ता व्यक्तिले संकेत दिन्छन् । यदि आफ्नो साथीहरु वा छेउछाउमा बस्ने कोहीमा आत्महत्याको सोच भएको थाहा पाउनुभयो भने कृपया उहाँहरुलाई उपचार प्रकृयामा लिएर जानुहोस । एकजनाको ज्यान सम्भावित मृत्युबाट जोगाउन सकियो भने यो भन्दा ठुलो पुण्य के होला र ?

 

(रेडियो कार्यक्रम बाँचे संसार जितिन्छ हरेक मंगलबार साँझ ७ बजे रेडियो मेलम्ची १०७.२, रेडियो सिन्धु १०५ र रेडियो हेलम्बु ८९.६ मेगाहर्जमा सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ ।)

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4431717/4437124/4424082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day Form 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us