आत्महत्या न्यूनीकरणमा अभिभावकको भूमिका : डा.अरुण राज कुँवर

(यस अन्तर्वार्ता बाँचे संसार जितिन्छ ˗ भाग ६ बाट साभार गरिएको हो । बाँचे संसार जितिन्छ अष्ट्रेलियन एडको आर्थिक सहयोग र निहारिका प्रोडक्सनको प्राविधिक सहयोगमा टि.पि.ओ. नेपालद्वारा प्रस्तुत गरिएको आत्महत्या सम्बन्धि रेडियो कार्यक्रम हो । यस भागमा मिलन गहतराजले कान्ति बाल अस्पतालका मानसिक बालरोग विशेषज्ञ डा.अरुण राज कुँवरसँग बालबालिकामा के कारणले मानसिक समस्या हुन्छ र त्यसबाट बच्न कस्तो सर्तकता अपनाउनु पर्छ भनेर सोध्नुभएको थियो ।)

Photo: FORUT

आत्महत्या गर्नु अथवा आत्महत्याको प्रयास गर्नु मानसिक स्वस्थ्य समस्याको कारणले गर्दा हो भनिन्छ । के बालबालिका पनि मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्या अथवा आत्महत्याको प्रयास सम्म पुग्ने गर्दछन् ?
हो । युवा, बालबालिका र टिनएजर्समा अलि आवेगपूर्ण (impulsive) व्यवहार हुन्छ । आवेगपूर्ण भन्नाले केही चिज मनमा आयो अथवा रिस उठ्यो भने झड्याङझुडुङ गर्ने र नसोची केही काम गर्ने भन्ने बुझिन्छ । चाहे बालबालिका होस या ठुलो मानिस, आत्महत्या गर्ने ९० प्रतिशत मानिसमा कुनै न कुनै रुपमा मानसिक समस्या हुन्छ । सबैभन्दा मुख्य समस्या भनेको डिप्रेसन नै हो । त्यसपछि अरु विभिन्न किसिमका मानसिक समस्याहरु हुन सक्दछन् ।

बालबालिकाहरु मानसिक स्वास्थ्य समस्याको कारणसम्म पुग्ने अवस्था के ले ल्याइदिन्छ ?
मानसिक समस्याका मुख्य दुईवटा कारणहरु हुन्छन् । एउटा वंशाणुगत, अर्को वातावरणीय । धेरै ठाउँमा भने यी दुईवटाको अन्तक्रिया हुन्छ । तर स्कुलमा वा घरमा कहिलेकाहीँ बुवाआमाको झगडा, साथीभाईको प्रेसर, साथीभाईले गिज्याउने, धेरै दुख दिने जस्ता कुनै पनि चिजले धेरै तनाव दियो भने त्यसले पनि मानसिक समस्या सिर्जना गर्न सक्छ । कसैको वंशाणुगत कारण पनि हुन सक्छ । वंशाणुगत कारण छ भने साधारण मान्छेले सामना गर्न सक्ने तनाव उसले सामना गर्न सक्दैन । त्यस्तो अवस्थामा एक दुई हप्तामा तङ्ग्रिनुको सट्टा झन अवस्था बिग्रन्छ । कहिलेकाहीँ वंशाणुगत कारण नै नभए पनि तनाव धेरै भयो भने त्यतिकै पनि मानसिक समस्या हुन सक्छ ।

वशांणुगत कारणले भएका मानसिक स्वास्थ्य समस्यामा सामनाका उपायले खासै काम गदैन भने के गर्ने ? कसरी उपचार गर्ने ?
साधारण सामनाका उपायले हुँदैन । यदि कोही सानो बच्चाको परिवारमा पहिले पनि २, ३ पटक आत्महत्या भएको घटना छ र उसको मनस्थिति हेर्दा कहिलेकाहीँ एकदम उदासीन देखिन्छ भने अहिले देखि नै परामर्श दिनुपर्छ । उसलाई आत्महत्याको विचार आएपछि उपचार गर्छु भनेर बस्नु हुँदैन । पहिलेदेखि नै परामर्शदाता, मनोविद् वा मनोचिकित्सक कहाँ जाने, कुरा गर्ने गर्नुपर्छ । उसलाई हामीले जिन्दगीमा तनाव हुने र मानसिक समस्या बढाउने चिजहरुको बारेमा जानकारी दिने र त्यसको सामना गर्न सिकाउनुपर्छ । अर्को, जीवनमा आउने विभिन्न गाह्रो कुराहरुलाई कसरी सहजीकरण गर्ने भनेर पहिले नै प्रोत्साहन गर्नुपर्छ । त्यससँगै नियमित परामर्शकर्तासँग देखाइरहनु पर्छ । त्यति गर्दागर्दै पनि समस्या आउन थाल्यो भने तुरुन्तै अर्को तहको उपचार गर्नुपर्छ ।

कुनै विशेष उमेर समुहका बालबालिकाले आत्महत्या गर्न सक्ने सम्भावना बढी हुन्छ कि हुँदैन ? 
अलि बढी हुने भनेको टिनेज अवस्था हो । १३, १४ देखि १७, १८ वर्षमा । यो अवस्थामा उनीहरुको दिमाग ठुलो मान्छेको जस्तो पनि हुन्छ तर पूर्ण रुपमा ठुलो मान्छेको जस्तो भइसकेको हँुदैन । रिस उठ्यो भने झगडा गरिहाल्ने, साथीले चोर्न जाऊँ भन्यो भने चोरिदिने गर्छ । अनि उसलाई मुख्य गरी भविष्यको बारेमा सोच्न पनि गाह्रो भइरहेको हुन्छ । यो उमेर भनेको विकास हुने अवस्था हो जहाँ दिमाग नै आफैँ अन्योल हुने चरणमा हुन्छ । त्यसै कारणले यो उमेरमा अलि बढी समस्या हुने मौका हुन्छ ।

यदि कसैलाई मानसिक स्वास्थ्य समस्या छ र उसलाई आत्महत्याको सोच आइरहेको छ भने उसले कुनै न कुनै रुपमा संकेत दिन्छ भनेर भनिन्छ । बालबालिकाहरुले कस्तो संकेत दिन्छन र अभिभावकले ती संकेतहरुलाई कसरी बुझ्ने ? 
पहिलो कुरा त यदि तपाईको बच्चाको व्यवहारमा बद्लावट आयो (धेरै खुसी अथवा धेरै दुखी हुने, साथीभाई, घर परिवारसँगको व्यवहारमा परिवर्तन आउने, स्कुलमा गर्ने बानी व्यवहार र पढाइमा परिवर्तन आउने, दिनचर्यामा परिवर्तन जस्तै सुतिराख्ने, बाहिर नजाने, धेरै खेल्ने र रमाउने बच्चा नरमाउने) भने मेरो बच्चालाई मानसिक समस्या हुन थाल्यो कि भनेर बुझ्नु पर्दछ । यदि बच्चाले मर्ने कुरा गर्न थाल्यो भने तपाईले उसलाई के भयो, कहिले त्यस्तो आत्महानी या आत्महत्याका विचार आउँछन् भनी सिधै सोध्नु पर्छ । यस्तो सोच आउने व्यक्तिलाई आफ्नो समस्या व्यक्त गर्न गाह्रो हुन्छ तर कसेैले सोधिदिएमा उसले खररर भन्छ । त्यसैले शङका लागेको छ भने सिधै सोध्दा हुन्छ । जस्तो कुनै बच्चा स्कुल गएन भने तपाईले ऊ किन स्कुल गएन भनेर बुझ्नु पर्छ । स्कुल नजानु पनि मानसिक समस्याको कारण हुन सक्छ । स्कुलमा समस्या हुन सक्छ । स्कुलको मास्टरले कुटिरहेको हुन सक्छ, साथीभाईले धेरै गिज्याएका हुन सक्छन् , स्कुल जाँदा बुवाआमा झगडा गरेर मर्छन् भनेर डर लागेको हुन सक्छ । स्कुल नगएका कारण सिधै सजाय दिनुभन्दा यस्तो किन भइरहेको छ भनी उसँग बसेर कुरा गर्ने, बुझ्ने कोसिस गर्ने र त्यसलाई हल गर्ने कोसिस गर्ने गर्नुपर्दछ । यदि त्यसबाट पनि हँुदैन भने परामर्श गनुपर्छ । मनोविद्, मनोचिकित्सक अथवा अरु मनोसामाजिक कार्यकर्ताहरुसँग बसेर समस्यालाई कसरी हल गर्ने भनेर बुझ्नुपर्छ ।

कोही पनि बालबालिका आत्महत्याको अवस्था अथवा आत्महत्याको प्रयाससम्म नपुगोस् भनेर अभिभावकले कस्तो कुरामा सचेत हुनुपर्छ ?
धेरै तनाव हुने अवस्था सिर्जना गर्नुहुँदैन । घरमा, स्कुलमा अथवा अरु कहीँ तनाव छ भने त्यसलाई न्यूनीकरण गर्नुपर्छ । अभिभावकले बालबालिकासँग डिप्रेसन, मानसिक रोग, स्कुल आदिका बारेमा स्पष्ट रुपमा कुरा गर्नुपर्छ । यो त सबैलाई हुन सक्ने कुरा हो तर यदि तिमीलाई कहिलेकाहीँ उदासीपन भयो अथवा मर्ने विचारहरु आउँछन भने त्यो सामान्य अवस्था होइन भनी सम्झाउनुपर्छ । त्यस्तो भएमा मद्धत माग्नुपर्छ भनेर बालबालिकालाई सिकाउनु पर्छ । साथीभाई कसैले त्यस्तो कुरा गरेमा पनि उसलाइ मद्धत गर्नुपर्छ भनेर सिकाउनुपर्छ । शिक्षकहरुले पनि स्कुलमा सबै बालबलिकाहरु सँगै राखेर मानसिक समस्याको बारेमा कुरा गर्नुपर्छ । मुख्य उपाय भनेको सचेतना नै हो ।

बालबालिकाको हुर्काइमा सकारात्मक प्रभाव पार्न अभिभावकले के गर्नुपर्छ ?
बालबालिकालाई कसरी हुर्काउने भन्ने कुरा सबैको एउटै विधि नहोला तर साधारण बुझ्नु पर्ने कुरा दुईचार वटा कुरा छन् । एउटा भनेको सबै बच्चाको वातावरण अनुमान गर्न सकिने हुनुपर्छ । भनेको उसलाई के, कसरी, कुन बेला हुन्छ भन्ने कुरा थाहा हुनुपर्छ । यो बेला टिभी हेर्ने, यो बेला पढ्ने, यो खाना खानुहुन्छ, यो खाना खानुहुँदैन भनेर उसलाई थाहा हुनुपर्छ । उसलाई राम्रो काम गर्दा कसरी इनाम दिने र काम बिगारेमा कसरी सजाय दिने भन्ने कुरा पनि थाहा हुनुपर्छ । यदि भन्दा भन्दै पनि राम्रो काम गदैन भने बल्ल सजाय दिनुपर्छ तर सजाय भनेको पिट्ने, दुख दिने हैन । सजाय भनेको उसलाई रमाईलो हुने कुरा निकालिदिने । जस्तैः होमवर्क नगरेमा टिभी हेर्न नपाउने । बुवाआमाको छोराछोरीमा नियन्त्रण हुनु पर्छ तर जबरजस्ती नियन्त्रण गर्ने हैन । आफुले बोलेको कुरा लागू गरेर देखाउनु सक्नुपर्छ । बाबुआमाले भनेपछि मैले गर्नैपर्छ भनेर उसले बुझ्नुपर्छ । होमवर्क नगर्दा टिभी हेर्न नपाउने भनेपछि टिभी हेर्न दिनै भएन । अनि बल्ल उसले मैले के गर्दा कस्तो हुन्छ भनेर बुझ्छ । र अर्को कुरा भनेको उसलाई तनावको अवस्था सिर्जना गरिदिनु भएन । कुनै काम बिगा¥यो भने सिधै सजाय दिनुभन्दा पनि अर्को पटकबाट कसरी राम्रो काम गर्ने भनेर सिकाउनु पर्छ । यी त सामान्य कुरा भए । सबैको आफ्नै पारिवारिक संस्कृति हुन्छ , इतिहास हुन्छ । आफ्नो जातभात अनुसार हुर्काउने शैली हुन्छ । सामाजिक व्यवहार हुन्छ । सरलता हुन्छ । मुख्य कुरा उसलाई तनाव हुनु भएन । यदि कोही बच्चाले गर्न सकेन भने सिधै गएर सजाय दिने हैन । बरु उसले किन गर्न सकेन भनेर बुझ्नु पर्छ । यति कुरा याद गर्नुभयो भने उसको जिन्दगीमा तनाव आउँदैन र मानसिक समस्या र आत्महत्याको सम्भावना पनि कम हुन्छ ।

कान्ति बाल अस्पताललाई बालबालिकाको सम्पुर्ण समस्या सम्बोधन गर्ने अस्पतालको रुपमा लिइन्छ । यस अस्पतालले मानसिक स्वास्थ्यलाई केन्द्रित गरेर केही खास काम गरेको छ ?
हामीले अहिले कान्ति बाल अस्पतालमा सरकारी छुट्टी बाहेक हरेक दिन बिहान १० बजे देखि दिउँसो २ बजे सम्म बाल मानसिक क्लिनिक सञ्चालन गरिरहेका छौ । यदि कसैले कोही पनि बच्चामा मानसिक समस्या भएको देख्नु भयो भने यहाँ हामीलाई रिफर गर्न सक्नुहुन्छ । हामीले सकेसम्म मद्धत पु¥याउन कोशिस गर्नेछौँ ।

त्यसका लागि कहाँ सम्पर्क राख्ने ?
यस क्लिनिकमा एउटा हेल्पलाईन पनि छ । ९८०८५२२४१०, यस नम्बरमा फोन गर्नुभयो भने बिहान १० बजे देखि दिउँसो १२ बजे सम्म हामीले फोनबाट पनि केही सुझावहरु दिन सक्छौँ ।

 

(रेडियो कार्यक्रम बाँचे संसार जितिन्छ हरेक मंगलबार साँझ ७ बजे रेडियो मेलम्ची १०७.२, रेडियो सिन्धु १०५ र रेडियो हेलम्बु ८९.६ मेगाहर्जमा सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ ।)

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4431717/4437124/4424082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day Form 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us